Logo

एमालेले सत्ता गएको कुण्ठा संसदमा पोखिरहेको छ : खतिवडा



काठमाडौं, २३ जेठ । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले नेकपा एमालेका सांसदहरु आवेग र उत्तेजनामा आएर बोलिरहेको आरोप लगाएका छन् ।
‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणबाट फर्किएपछि सदनलाई जानकारी गराउने क्रममा भएको प्रश्नोत्तरमा एमालेका सांसदहरु आवेग र उत्तेजनामा आए । तैपनि प्रधानमन्त्रीले शालीनतापूर्वक जवाफ दिनुभयो । संसदमा सांसदहरु स्वतन्त्र हुन्छन्, स्वविवेकीय रुपमा कुरा गर्न पाउँछन् । तर सांसदहरुलाई कसैको लाहाछाप, बन्धक वा ल्याप्चेजस्तो बनाइयो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
कांग्रेस सांसद खतिवडाले पार्टी नेताले जे भन्यो, त्यही ल्याप्चे लगाउनुले संसद्को गरिमा नबढ्ने बताए । उनले भने, ‘हामीले पनि पहिले चाइनालाई गैंडा दियौं । तर त्यहाँ कहिल्यै कुरा उठेन । भारतबाट राँगो ल्याउने सम्झौता केपी शर्मा ओलीकै पालामा भएको रहेछ । सत्ता गएको कुण्ठा र रोदनलाई आक्रोश बदल्नु भनेको जनतामा संसद् र व्यवस्थाप्रति वितृष्णा पैदा गराउने काम हो ।’
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा पनि एमालेले अनावश्यक विवाद गरेको खतिवडाको आरोप छ । उनले भने, ‘संविधानभन्दा माथि कोही पनि हुँदैन । राष्ट्रपतिले सरकार र संसद्ले गरेका कामलाई अनुमोदन गर्नु अन्यथा होइन । हिजो त्यही कुरा नागरिकता अध्यादेशबाट ल्याउँदा उपयुक्त, आज संसदले दुई-दुईचोटि पारित गरेको विधेयक अनुपयुक्त हुन सक्दैन । हामी कुनै विदेशीलाई नागरिकता दिँदै छौं र ? नेपाली नागरिकका सन्तानलाई दिने त हो नि । बजेटमा छलफल गर्न छाडेर यो विवाद आवश्यक थिएन ।’

साथै उनले पशुपतिनाथ जलहरीका सम्बन्धमा महालेखा परीक्षकको प्रतिवेदनले औंल्याए बमोजिम सांसदले बोलेका कुरा मिलेमतोमा संसदको रेकर्डबाट डिलेट गर्न लगाउनु अनुचित भएको पनि बताए । सांसद खतिवडाले बजेट वितरणमुखी नभए पनि जिल्लामा विभेद भएको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot