Logo

कोशीमा ढल्दै एमाले सरकार,माओवादीको निर्णायक छलफल आज



काठमाडौं,२३ जेठ । केन्द्रसहित ६ प्रदेशमा एकैपटक सत्ताबाट बाहिरिएको नेकपा एमाले बाँकी रहेको एउटा कोशी प्रदेश सरकारबाट पनि बाहिरिनु पर्ने अवस्थामा आइपुगेको छ ।

प्रदेशमा सत्ता साझेदारको रुपमा रहेको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिने तयारी गरेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकार ढल्ने भएको छ ।गत पुस २४ गते एमाले-माओवादी-राप्रपा र जसपाको गठवन्धनबाट मुख्यमन्त्री नियुक्त भएका कार्की केन्द्रमा आएको सत्ता परिवर्तनसँगै मुख्यमन्त्रीबाट बाहिरिनु पर्ने अवस्थामा आएको हो ।

कार्की नेतृत्वको सरकारमा सामेल जसपाकी निमर्ला लिम्बूले सरकारबाट बाहिरिँदै राजिनामा दिएपछि थप दवावमा परेका  कार्की माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा अल्पमतमा पर्नेछन् र उनले एक महिना भित्रमा प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । अहिलेकै अवस्थामा कार्कीले विश्वासको मत पाउने देखिँदैन ।

केन्द्रमा सत्ता समिकरण परिवर्तन भएदेखिनै माओवादी केन्द्रलाई सरकारबाट बाहिरिन दवाव दिइरहेको नेपाली कांग्रेस जसरी पनि कार्की नेतृत्वको सरकार ढलाउने रणनीतिमा रहेको छ । पटक पटक औपचारीक आग्रह गर्दै सरकारबाट बाहिरिन गरेको आग्रह माओवादी केन्द्रले नमानेपछि गत हप्ता कांग्रेसले औपचारिक पत्रनै पठाएर तत्काल प्रदेश सरकार छाड्न निर्देशन दिएको थियो ।

पछिल्लो समय केन्द्रमा देखिएको सत्तापक्ष र प्रतिपक्षीबीचको हानाथापलाई वाहाना बनाएर प्रदेश सरकार छाड्न सहज हुने अनुमानसहित कांग्रेसले माओवादीलाई दवाव बढाउँदै लगेको देखिन्छ । प्रदेश सरकार बारेमा निर्णय गरेर साझा धारणा बनाउन माओवादी केन्द्रको प्रदेश संसदीय दलको बैठक आज बस्दैछ । बैठक विहान ११ बजे बस्नेछ । आजको बैठकले प्रदेश सरकारबारे स्प्रष्ट धारण बनाउने बताइएको छ ।

प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीको १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपाको १ सांसद छन् । केन्द्रको सत्ता गठबन्धन दलहरु काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपा मिल्दा बहुमत सङ्ख्या ४७ सांसद पुग्छन् । तर सभामुख गठबन्धन दलबाटै भएको कारण विश्वासको मत लिने समयमा भने त्यो सङ्ख्या ४६ मात्रै हुनसक्छ । यद्यपि काँग्रेस–माओवादी गठबन्धन दलले राप्रपालाई पनि सँगै लिएर जाने प्रयास गरिरहेका छन् ।

तर राप्रपाले भने केबल मन्त्री बन्नकै लागि सरकार नछोड्ने बताउँदै आएको छ । राप्रपा प्रदेश संसदीय दलका नेता तथा सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौला आफु अहिलेपनि मन्त्री रहेको भन्दै सत्ता परिवर्तन गर्नेभए आफ्नो दलले बाँकी चार वर्ष मुख्यमन्त्री पाउनुपर्ने बताउँछन् ।

जसरी पनि कार्की नेतृत्वको सरकार ढलाउने योजनामा रहेको कांग्रेसले अब राप्रपालाई मुख्यमन्त्री दिन्छ वा समय अगावै प्रदेशसभा विघटन हुन्छ त्यो भने छिट्टै नै स्प्रष्ट हुन्छ ।



प्रतिक्रिया दिनुहोस्