Logo

७० वर्षे उमेर हद हटाउने एमालेको निर्णयप्रति रावलको असन्तुष्टि (भिडियोसहित)



काठमाडौं, २७ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीम रावलले पार्टीमा ७० वर्षे उमेर हद हटाउने कुरा आफूलाई जानकारी नभएको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमालेमा उमेर हद हट्नुपर्छ भन्ने अनुभव भएको भए पार्टीभित्र छलफल गरेर पारित हुनुपर्ने बताए ।

‘यसमा कसरी छलफल भयो, के भयो ? मलाई जानकारी छैन । जतिबेला ७० वर्षलाई एउटा रेखा बनाइयो, त्यो बेलामा धेरै ठूलो बहस र छलफल भएको थियो । त्यो छलफलपछि भरतमोहन अधिकारी, सिद्धिलाल सिंह, सहाना प्रधानजस्ता नेताहरुले अवकाश प्राप्त गर्नु भएको थियो । मलाई त्यो दिनको सम्झना हुन्छ । अब अहिले पार्टीले ७० वर्षको अवधि हटाउन पर्छ भन्ने अनुभव गरेको हो भने त्यो प्रक्रियामा जानुपर्यो,’– उनले भने ।

७० वर्ष उमेर हद हटाउन पर्छ भन्ने महसुश भएको खण्डमा विशेष महाधिवेशन गरेर पारित गर्नुपर्ने उनको भनाई छ । नेताहरुले विधि र प्रणाली नमान्ने हो भने यो व्यवस्थाको कुनै औचित्य नै नरहेको उनको दाबी छ ।

‘हामी आज संवैधानिक सर्वोच्चता र कानुनको शासनमा छौं । विधि मान्छौं, प्रणाली मान्छौं । यदि हामी विधि मान्दैनथ्यौं, प्रणाली मान्दैनथ्यो र कुनै व्यक्तिका भनाईहरु संविधान भन्दामाथि मान्थ्यौं भने आज यो व्यवस्था ल्याउनुको कुनै औचित्य थियो त ?’– उनले भने ।

एमालेको केन्द्रीय समिति बैठकले ७० वर्षे उमेर हद हटाउने निर्णय गरिसकेको छ । एमालेको विधानको धारा ६४ मा ७० वर्ष पूरा गरेका नेताहरुले पार्टीको निर्वाचित वा मनोनित भएर हुने कार्यकारिणी भूमिकामा बस्न नपाइने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot