Logo

खडेरीले धानको बीउ राख्न समस्या



 राँझा, २९ जेठ । बाँकेमा खडेरीले खेतबारी सुख्खा भएपछि किसानलाई धानको बीउ राख्नै समस्या भएको छ । जेठ अन्त्यसम्म पनि वर्षा नभएकाले धान रोपाइँका लागि किसानले बीउ राख्न नपाएका हुन् । आकाशे पानीको भरपर्नुपर्ने किसानलाई यो वर्ष धानको बीउ राख्नै समस्या भएको खजुराका किसान गेहेन्द्र धितालले बताए ।
सिँचाइको व्यवस्था नभएकाले धानको बीउ राख्न पनि आकाश हेरेर बस्नुपर्ने बाध्यता भएको उनको भनाइ थियो । “धान खेतीका लागि आवश्यक सिँचाइ, बीउ र मल नपाउँदा बर्सेनि गरिखाने किसानले दुःखमाथि दुःख झेल्नुपर्ने बाध्यता छ”, उनको गुनसो थियो  ।
बाँकेमा सिँचाइ सुविधा नपुगेका क्षेत्रमा घरायसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानीका राखिएको धाराको पानी प्रयोग गरेर धानको बीउ राखिएको छ । नेपालगञ्ज, खजुरा, जानकी, वैजनाथलगायत क्षेत्रमा किसानले मोटरबाट तानेर वा खोनपानी नै प्रयोग गरेर बीउ राखेका छन् । जसोतसो बीउ राखे पनि वर्षात् नभएका कारण बीउ जोगाउन मुस्किल परेको जानकी गाउँपालिका–५ बेलहरीका किसान रामसुरत यादवको भनाइ थियो ।
बाँकेमा सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरबाट राप्ती सोनारी र पश्चिमी नहरबाट कोहलपुर नगरपालिकाका केही वडामा सिँचाइको व्यवस्था भए पनि अधिकांश किसान अहिले पनि आकाशे पानीको भरमा धानखेती गर्न बाध्य छन् । धानको बीउ राख्ने समयलाई मध्यनजर गरेर पूर्वी र पश्चिमी दुवै नहरमा नियमितरुपमा पानी छोडिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी विशाल यादवले जानकारी दिए । कृषि ज्ञानकेन्द्रका प्रमुख शकील अहमदले यो वर्ष वर्षा नभएका कारण जिल्लामा धानको बीउ राख्नै किसानलाई कठिनाइ भएको बताए । जिल्लामा ३६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot