Logo

धर्मनिरपेक्षता, संघीयता र निर्वाचन प्रणाली खारेज गर्नुपर्छ : कांग्रेस नेता



काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेसका नेता एवं सांसद शंकर भण्डारीले धर्मनिरपेक्षता, संघीयता र निर्वाचन प्रणाली बदल्नुपर्ने औंल्याएका छन् । त्यसका निम्ति कांग्रेसका सबै नेता कार्यकर्ता आफ्नो गुटमा आउनुपर्ने दाबी पनि उनले गरे ।
‘अत्यन्त बदनियत र नियोजित रुपमा वैदिक सनातन धर्म, संस्कार, संस्कृतिविरुद्ध षड्यन्त्र गरी संविधानमा धर्मनिरपेक्षता राखियो । अब हिन्दु राष्ट्र पुनःस्थापना गर्ने बेला भयो । २०७२ सालमा संविधान बनाउने बेला जनमत के थियो ? अहिले विदेशी भरिया, दलाल र एजेन्टको भाषालाई जनमत भन्ने ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग भण्डारीले भने ।
मुुलुकमा संघीयताको औचित्य समाप्त भइसकेकाले नयाँ ढंगले सोच्नुपर्ने उनले बताए । भण्डारीले थपे, ‘नेपाली जनतामाथि जबर्जस्ती संघीयता लादिएको छ । संघीयताका बारेमा कहिले बहस भयो कांग्रेसमा ? सत्ताको डाडु पन्युँ लिनेले मात्र संघीयताको रटान लगाएर हुन्छ ? आजको जनमत लिनुस् न । कुनै पनि दलको सरकार पाँच वर्ष टिकेको छैन । राजनीतिक स्थायित्वका लागि नयाँ निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छ । त्यसनिम्ति कांग्रेसका सबै नेता कार्यकर्ता शंकर भण्डारीको गुटमा लाग्नुपर्छ ।’
नेपालका अधिकांश सञ्चारमाध्यम विदेशीकै एजेन्डामा हिन्दुत्व समाप्त गर्न लागेको आरोप पनि भण्डारीले लगाए । उनले भने, ‘हामी पनि संसद्मा वा अन्य फोरममा बोलिरहेका छौं । तर त्यसको चर्चा गरिएको छैन । हाम्रा बहस बाहिर आएका छैनन् । तथाकथित मिडिया प्रायोजित मान्छेलाई मात्र फोकस गर्छन् । यो देशकै दुर्भाग्य हो । तर एउटा कुरा के हो भने मभन्दा माथि कांग्रेस छ, कांग्रेसभन्दा माथि देश छ । देशभन्दा माथि कोही हुँदैन, कोही हुन सक्दैन । अब देशको पहिचान बचाउन सोच्ने बेला भएको छ । मिडिया, पार्टीभित्र । को कोले के के भने, त्यसमा गुनासो र टिप्पणी छैन ।’ फरक प्रसंगमा भण्डारीले हातमा डाडुपन्युँ हुनेले बजेटमा मनलाग्दी गरेको आरोप पनि लगाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot