Logo

प्रधानमन्त्री प्रचण्डलाई सत्ता साझेदार दलहरुले नै लात हान्दैछन्ः महेश बस्नेत



काठमाडौं, ३२ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सत्ता संकटमा परेको टिप्पणी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री प्रचण्डको सत्ता टिकाउने अभियान धरासयी बनेको टिप्पणी गरेका हुन् । प्रचण्डलाई संकट परेको बेलामा मात्रै नेकपा व्युँताउने कुरा उठाउने गरेको उनको आरोप छ ।

‘प्रधानमन्त्री ज्यूको अभिव्यक्तिलाई विश्लेषण गर्ने हो भने उहाँले पछिल्लो समय जस्तोसुकै हर्कत गरेर, राष्ट्रियता बेचेर, अन्तराष्ट्रिय शक्तिहरुसँग साठगाँठ गरेर, नेपालमा एमालेलाई एक्लो बनाएर सत्ता टिकाउने उहाँको अभियान थियो । त्यो अभियान धरासयी बन्दैछ भन्ने देखिन्छ । समाजवादी केन्द्र बनाउने र नेकपा व्युँताउने भन्ने कुरा जब उहाँलाई अप्ठ्यारो पर्छ, त्यतिखेर टेकोको रुपमा, साहराको रुपमा नेपाल कम्युनिष्ट पार्टीको एकीकृत अभियान चलाउँछु भन्नुहुन्छ,’– नेता बस्नेतले भने ।

प्रधानमन्त्री प्रचण्डले जस्तोसुकै सत्ता संकटमा परेपनि म भ्रष्टाचारीलाई छोड्दिन भन्ने अभिव्यक्ति दिनुको कुनै औचित्य नरहेको उनको भनाई छ । साथै, सत्ताधारी दलबीच बजेट संशोधनको सहमति बनेको उनले दाबी गरे । संसदीय अभ्यासमा सत्ता पक्षका दलहरुबीच बजेट संशोधनका लागि भएको सहमति यो पहिलो भएको र यसबाट नै प्रधानमन्त्री प्रचण्ड सत्ता बचाउनका लागि जस्तोसुकै हर्कत गर्न तयार छन् भन्ने प्रष्ट भएको उनले बताए ।

‘हिजोमात्रै सत्ताधारी दलहरुका बीचमा बजेटलाई संशोधन गर्ने सहमति भयो । मलाई लाग्छ, संसदीय व्यवस्थामा बजेट संशोधन गर्ने भनेर सत्ता पक्षले सहमती गरेको पहिलो चोटी हो । यसबाट के बुभिन्छ भने प्रचण्डको सत्ता साझेदार दलभित्र गम्भीर संकट उत्पन्न भएको छ । प्रचण्डजीका सारा अभियानहरु फेल हुँदैछ । प्रचण्डलाई सत्ता साझेदार दलहरुले लात हान्दैछन् भन्ने कुराको संकेत उहाँले पाउनु भयो र यो अभिव्यक्ति हरु छट्पटाहटको रुपमा आएको छ,’– नेता बस्नेतले भने ।

प्रधानमन्त्री प्रचण्डजीकै महत्वकांक्षका कारण नेकपा विघटन भएको उनको आरोप छ । प्रचण्डले कहिले कांग्रेस देखाएर एमाले तर्साउने र कहिले एमाले देखाएर कांग्रेस तर्साउने काम गरिरहेको नेता बस्नेतको दाबी छ । यस्तो अवस्थामा नेकपा बनाएर एमालेले फेरि गल्ती नदो¥याउने उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot