Logo

हरिकृष्ण कार्कीको प्रतिवेदन सर्वोच्च अदालतमा फेला नपरेर बार एसोसिएसनबाट लगे : बिडारी



काठमाडौं, २ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वसांसद रामनारायण बिडारीले नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई न्यायालयमा बिचौलिया नियन्त्रण, छिटो न्यायसम्पादन र विकृति विसंगति न्यून गर्ने चुनौती रहेको बताएका छन् ।
‘अदालतमा बिचौलियाको बिगबिगी छ, न्यायसम्पादनमा ढिलासुस्ती छ, अनियमितता र भ्रष्टाचार छ, ती सबैलाई निरुत्साहित गर्ने कोसिस गर्छु भनेर नयाँ प्रधानन्यायाधीशले भन्नुभएकै छ । उहाँ न्यायाधीश हुँदा तयार गरेको न्यायालय सुधारसम्बन्धी प्रतिवेदन सर्वोच्चमा फेला नपरेर बार एसोसिएसनबाट लगेको सुनिएको छ । अब त्यसलाई फुलकोटमा स्वीकृत गराएर कार्यान्वयन गर्नुपर्ने चुनौती छ । योबाहेकका काम भ्याउनुहुन्न,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
वरिष्ठ अधिवक्तासमेत रहेका बिडारीले नयाँ प्रधानन्यायाधीशको कार्यकाल छोटो भए पनि राम्रो काम गर्न कुनै छेकबार नभएको औंल्याए । उनले भने, ‘अब उहाँले काम गर्ने भनेको २०–२५ दिन मात्रै हो । जति सक्नुहुन्छ, त्यति गर्नुहुन्छ । कामु प्रधानन्यायाधीशको कार्यकाल हेर्दा उहाँ एकदम फुर्तिलो र फटाफट काम गर्ने मान्छे जस्तो लागेन । फूर्तिसाथ काम गर्न उहाँलाई के भएको छ कुन्नि ? उहाँको इमानमा (समस्या) केही छैन । अब हेरौं न ।’
अवकाशको एक महिना अगावै बिदा बस्नुपर्ने कुनै कानुन नभएको पनि बिडारीले बताए । उनले भने, ‘एक महिना पहिले नै बिदा बस्ने त्यस्तो कानुन छैन, अभ्यास मात्र हो । विश्वनाथ उपाध्यायले रिटायर दिने दिन पनि मुद्दा फैसला गर्नुभयो । उहाँले चाहँदा विश्वनाथले जस्तै गर्न सक्नुहुन्छ ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा हाई प्रोफाइल व्यक्तिहरुको जेल चलान स्वागतयोग्य भएको पनि उनले बताए । बिडारीले भने, ‘हाई प्रोफाइल भएपछि बयान त्यस्तै गर्छन् । खुराफात गर्न सिपालु र बेइमानहरु उनीहरुका वरिपरि हुन्छन् । तिनले जिल्ला अदालत कब्जा गरेर बसेका थिए । तिनीहरु कानुन बमोजिम जेल चलान भएका छन् । अब तिनीहरु उच्च अदालतदेखि सर्वोच्चसम्म जान सक्छन् । निर्दोष भए भोलि सफाइ पनि पाउँछन् ।’
समाजवादी मोर्चा आवश्यकताको सिद्धान्त अनुसार बन्न लागेको पनि बिडारीले बताए । उनले थपे, ‘हिजो मोर्चा घोषणा हुने त कुरै थिएन । मोर्चामा एकसे एक मै हुँ भन्ने नेताहरु छन् । मोर्चा मापदण्ड, सिद्धान्त र निर्देशिका बनाउनुपर्ने हुन्छ । माओवादी पार्टी अहिले सानो भएको छ । ठूलो पार्टी बनाउनुपर्ने बाध्यता छ । माधवजी , उपेन्द्रजी, बाबुरामजी सबै सानो भएका छन् । यो सैद्धान्तिक कुराभन्दा पनि आवश्यकता र बाध्यता हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot