Logo

पेट्रोलियमको मूल्य घट्दा आयल निगमलाई राहत



काठमाडौं, असार १८। नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई तेल खरिद गरेबापतको बक्यौता २४ अर्ब रकम चुक्ता गरेको छ ।

रुस–युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र दरले वृद्धि हुन थालेपछि निगम पुस २०७७ देखि नोक्सानीमा जान थालेको थियो। अहिले दुई वर्षको बक्यौता रकम निगमले एक वर्षमै चुक्ता गरेको हो। निगमले अन्तर्राष्ट्रिय बजारमा घटेको दरमा नेपाली बजारमा मूल्य नघटाएर चर्को नाफा राखेको थियो। कच्चा तेलको मूल्य घटे पनि ‘तेल किन्दा लागेको ऋण तेल बेचेरै तिर्ने’ भन्दै निगमले बक्यौता र ऋण तिर्न उच्च नाफा राखेर उपभोक्ता मूल्य भने न्यून मात्र घटाएको थियो ।

यसबाहेक गत भदौ–असोजदेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएपछि निगमले आइओसीको ऋण तिर्न सफल भएको हो । निगमले प्रत्येक महिनाको ८ र २३ तारिखमा तेल खरिद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ। निगम प्रवक्ता मनोजकुमार ठाकुरले एक वर्षमा आइओसीको २४ अर्ब रुपियाँ चुक्ता भएको जानकारी दिए।

आगामी जुलाई ८ मा ब्याजबापतको १८ करोड रुपैयाँ बुझाएपछि आइओसीको सबै ऋण चुक्ता हुने उनले बताए । निगमले आइओसीलाई ७।१ प्रतिशत ब्याजबापत एक वर्षमा ७० करोड रुपैयाँ बुझाएको छ । नाफामा मूल्य स्थिरीकरण कोषको साढे तीन अर्ब र सरकारबाट भ्याटबापत फिर्ता आएको साढे तीन अर्ब रुपैयाँ जोडेर निगमले ऋण तिरेको हो ।

निगमले गत वर्ष असारमा साउनमा मूल्य बढ्दै गएपछि निगमले तेल खरिद गर्नकै लागि राखेर राष्ट्रिय वाणिज्य बैङ्क र नेपाल सरकारबाट ऋण लिएको थियो । राष्ट्रिय वाणिज्य बैङ्कको साढे तीन अर्ब रुपियाँ तिरिसकेको जनाएको छ । मूल्य स्थिरीकरण कोषमा राख्नुपर्ने साढे तीन अर्ब रुपियाँ र भ्याटबापतको साढे तीन अर्ब रुपियाँसमेत आइओसीलाई तिरेको ठाकुरले जानकारी दिए।

पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ३१ प्रतिशतले घटेको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्