Logo

एनआरएनए अष्ट्रेलियाका अध्यक्षका उम्मेदवार देवबहादुर गुरुङको आकर्षक एजेण्डा



सिड्नी, ८ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए), अष्ट्रेलियाले यही जुलाई २९ (साउन १२) मा नयाँ कार्यसमिति चयन गर्दैछ । नेतृत्वको लागि तीन जनाको मुख्य प्रतिष्पर्धा हुने भएको छ। एनआरएनए अष्ट्रेलियाको अध्यक्षका उम्मेद्वार देवबहादुर गुरुङले ‘संस्थागत रुपान्तरण ः सामाजिक एकता, सबैको एनआरएनए हाम्रो प्रतिबद्धता’ मूल नारा लिएर चुनावी तयारी थालिसकेका छन् ।

गुरुङले नेतृत्वको टिमले ‘टिम परिवर्तन’ को नाम दिएर चुनावी प्रचारलाई आक्रामक बनाएको छ । गुरुङ पर्वतमा जन्मिएका हुन् । पर्वतबाट पोखरा झरेका गुरुङ विदेशिएको नै करिव ३८ वर्ष भैसकेको छ । उनीसँग बेलायतको सेना र अष्ट्रेलियाको सेनामा काम गरेको अनुभव छ ।

उनी गैरआवासीय नेपाली संघमा पनि सुरुवातदेखि नै आवद्ध छन् । सन् २०१७ देखि आफूले सचिवको रुपमा काम गरेको पनि स्मरण गराएका छन् । सन् २०१९ मा भने उनी एनआरएनए, अष्ट्रेलियाको कार्यसमितिमा उपाध्यक्षको भूमिकामा थिए । सन् २०२१ म नै उनी नेतृत्वमा आउन चाहन्थे । तर, साथीहरुको सल्लाहका कारण उनी उपाध्यक्षकै भूमिकामा दोहोरिएका थिए । अहिले सन् २०२३ को कार्यसमितिमा भने उनी नेतृत्वको लागि दौडमा छन् । उनी संस्थामा देखिएको सबैखाले विकृति र विसंगतिलाई चिर्नको लागि र गुटबन्दीको अन्त्य गर्न आफू नेतृत्वकोलागि दौडमा रहेको बताउँछन् ।

उनले भने,‘भनिन्छ–कुवामा धमिलो पानी छ भन्दैमा त्यो सफा हुँदैन, त्यसको लागि त्यही कुवामा हामफाल्नुपर्छ । बाहिर बसेर यो ठीक छैन अनि त्यो ठीक छैन भन्नु भन्दापनि त्यहीँ भित्रै गएर केही गरौं भनेर म त्यो संस्थामा पसेको हो । संस्थाभित्र पस्दै गर्दा मैले धेरै तितो मिठो कुरा अनुभव गरेको छु । मैले यो ६ वर्षमा काम गर्दा जे अनुभव बटुलें, यो अवधिमा एकदमै राम्रो काम पनि भएको छ । के काम भयो त? भनेर कसैले भन्यो भने यो काम गरेको छु भनेर भन्ने ठाउँ चाहीँ मैले राखेको छु ।’

गुरुङले आफ्नो एजेण्डामा समूदायलाई एकदमै आवश्यक रहेका आधारभूत विषयलाई नै आफूले फोकस गरेको सुनाए । उनले विभिन्न ९ बुँदे एजेण्डा अघि सारेका छन् । पहिलो एजेण्डामा भने मेम्बरसिप बढाउने रहेको छ । उनले भने,‘यो मेम्बरसिपलाई चाहीँ ईन्सेन्टिभ गरेर, विजनेस हव, रेष्टुराँ, कलेजदेखि लिएर यी व्यवसायहरु छन्, एनआरएनएको मेम्बरसिप लिँदै गर्दा डिस्काउन्टको सुविधा दिने । यसो गर्न सकियो भने मेम्बरसिपमा धेरै सहजता हुन्छ ।’ उनको अर्को मुख्य एजेण्डामा भने समूदाय केन्द्रहरु बनाउने रहेको छ । उनले नेपाल र अष्ट्रेलिया दुवै देशका सरकारसँग समन्वय गर्ने र सुविधाको लागि पहल गर्ने पनि अर्को एजेण्डा सुनाए ।

सो टिमबाट महासचिवमा उषाकिरण बरिया पोखरेलले उम्मेद्वारी दिएकी छिन् । उनी विगत एक दशकदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रि समन्वय परिषद्मा छिन् । उनले आफ्नो समूदायको सेवाको लागि आफू सक्रिय रहँदै आएको र नेपाली कला, संस्कृतिलाई अष्ट्रेलियामा प्रवद्र्धन गरिरहेको बताएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot