Logo

वीर अस्पतालमा २०४६ सालदेखि भिभिआईपीले गराएनन् उपचार



काठमाडौं, ९ साउन । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले वीर अस्पतालमा २०४६ साल पछाडि कुनै पनि भिभिआईपीहरुले उपचार गराएको रेकर्ड नभेटिएको बताएका छन् । वीरमा पहिलेदेखि नै भिआईपीका लागि एउटा र भिभिआईपीका लागि एउटा गरेर दुई वटा छुट्टै क्याविन भएपनि ०४६ सालपछि भिभिआईपी उपचारमा आएको रेकर्ड नभेटिएको बताएका हु्न् ।

पहिला–पहिला राजा महाराजाहरुले उपचार गराउने उक्त अस्पतालमा यति लामो समयदेखि कुनै भिभिआईपीले उपचार नगराएको भन्दै उनले आपत्ति जनाए ।

‘भिआईपीको लागि एक, भिभिआईपीका लागि एक गरी दुईवटा क्याविन वीर अस्पतालले धेरै अगाडिदेखि सञ्चालन गरेको थियो । यसमा ओपिडी सेवामा भिआईपीहरु आउनु भयो रे । तर, भिभिआईपीहरु आउनु भएको छैन । यहाँ चाहिँ उपचार गरेर यही हस्पिटलाईज भएर बस्ने गरी भिभिआईपीहरु ०४६ सालभन्दा पछि आउनु भएको रेकर्ड रहेन छ । हिजोका तत्कालीन राजा महाराजाहरु आउने, हाम्रा भिभिआईपीहरु नआउने ?’– उनले भने ।

अहिले भिभिआईपी र भिआईपीको उपचारको सन्दर्भमा सडकदेखि सदनसम्म आवाज उठ्ने गरेको बताउँदै उनले अब भिआईपी र भिभिआईपीले सम्भव रहेसम्मको उपचार नेपालकै अस्पतालमा गराउन पर्ने व्यवस्था ल्याइने उनले बताए । नेपालकै अस्पतालमा सम्भव हुने उपचार गराउन विदेश गए उक्त खर्च राज्यले नबेहोर्ने उनको भनाई छ । File photo/RN 



प्रतिक्रिया दिनुहोस्