Logo

छ महिनामै चार हजार आँखा रोगीको उपचार



ओखलढुङ्गा, साउन १७ । ओखलढुङ्गामा आँखा उपचार सेवा प्रभावकारी बन्दै गएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र र गाउँपालिकास्तरमा सञ्चालित उपचार सेवा केन्द्रबाट उपलब्ध हुने सेवाबाट जिल्लाका गाउँगाउँका नागरिकले सेवा पाएका हुन् । छ महिनायता चार हजार सात सय २५ जनाको आँखाको उपचार गरिएको छ ।

आँखा जाँच, औषधि तथा चस्मा वितरण सेवालाई जिल्लामा सञ्चालित अस्पताल र गाउँगाउँका पालिकास्तरमै पुर्‍याइएको छ । जीवनभर कहिल्यै आँखा परीक्षण नगरेकाले समेत आँखा जाँच गराएर सेवा लिएका छन् भने आँखा नदेख्ने कतिपय शल्यक्रियापछि आँखा देख्ने भएका जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख टीका राईले जानकारी दिए । केन्द्रबाट दुई हजार नौ सय २२, ओखलढुङ्गा सामुदायिक अस्पतालमा रहेको केन्द्रबाट ६ सय ६९, खिजीदेम्बाको ग्रामीण आँखा केन्द्रबाट पाँच सय १२, मोतिराज ग्रामीण आँखा केन्द्र मानेभञ्ज्याङबाट तीन सय ४१ र लिखु ग्रामीण आँखा केन्द्रबाट दुई सय ८१ जनाले आँखाको उपचार गराएको उनले बताए ।

यस्तै केन्द्रले विगत ६ महिनामा रु ३८ लाख ५६ हजार आम्दानी गरेको छ । सेवा उपलब्ध गराउँदा रु ३३ लाख खर्च भएको प्रमुख राईले जानकारी दिए । १७ वर्षअघि स्थापना भएको उक्त केन्द्रमा सेवा लिनेको संख्या बर्सेनि वृद्धि हुँदै गएको छ । मासिक झण्डै ६ सयको हाराहारीमा सेवाग्राही उपचारका लागि आउने गरेका छन् । जिल्लामा आँखा जाँच तथा उपचार सेवा प्रभावकारी बन्दै गएको सिद्धिचरण नगरपालिकाका निवर्तमान नगर प्रमुख तथा रेडक्रसका पूर्वसभापति मोहनकुमार श्रेष्ठले बताए ।

उनकै पहलमा जिल्लामा सामुदायिक आँखा उपचार केन्द्र स्थापना भएको हो । ‘हाल गाउँगाउँमा सेवा पुगेको छ’, श्रेष्ठले भने । विद्यार्थीको आँखा जाँच तथा उपचार कार्यक्रमलाई जिल्लाका सबै स्थानीय तहले अवलम्बन गर्नुपर्ने उनको भनाइ छ । जीदेम्बा, मानेभञ्ज्याङ, लिखुलगायतका स्थानीय तहले आँखा केन्द्र स्थापना गरेर सेवा प्रवाह थालेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्