Logo

कोशी प्रदेश: जसपाकी निर्मला लिम्बू स्वास्थ्यमन्त्री नियुक्त



काठमाडौं,२६ साउन । कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ ।

मुख्यमन्त्री उद्धव थापाले आज जनता समाजवादी पार्टी नेपालकी निर्मला तावा लिम्बूलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्री लिम्बूको पद तथा गोपनियताको शपथ अहिले दिउँसो २ः३० बजे हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मन्त्रीमा नियुक्त लिम्बू कोशीमा जसपाकी एकल सांसद हुन् । उनी यसअघि एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमासमेत सोही मन्त्रालयको  जिम्मेवारीमा थिईन् । तर गत फागुन १७ गते तत्कालिन प्रदेश नम्बर एकको नाम कोशी राखिएपछि असन्तुष्ट बनेर पदबाट राजीनामा दिएकी थिईन् ।

कोशी प्रदेश नामाकरणको विरोधमा रहेको जसपाले पहिचान पक्षधरको माग सम्बोधन नभएसम्म सरकारमा नजाने अडान राखेको थियो ।

गठबन्धन दल कांग्रेसको तर्फबाट कोशीको मुख्यमन्त्री बनेका थापाले शुक्रबार बिहान पत्रकार सम्मेलन गरी आन्दोलनरत पहिचान पक्षधरको माग सम्बोधनका लागि प्रतिबद्धता जनाएका छन् । उनीहरूको माग सम्बोधनका लागि मुख्यमन्त्री थापाले सार्वजनिक प्रतिबद्धतापत्र सार्वजनिक गरेपछि जसपा सरकारमा सहभागी भएको हो ।

लिम्बू मन्त्रीमा नियुक्त भएसँगै कोशी प्रदेश सरकार ५ सदस्यीय बनेको छ । यसअघि मुख्यमन्त्री थापाले कांग्रेसबाट प्रदीप सुनुवार, माओवादी केन्द्रबाट बाबुराम गौतम र नेकपा एसबाट कमलप्रसाद जवेगुलाई मन्त्री नियुक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot