Logo

निरन्तरको संसद अवरूद्ध उचित हैन : नेता सिंह



काठमाडौं, २७ श्रावण । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निरन्तरको संसद अवरूद्ध उचित नभएको भन्दै संवादमार्फत संसद सञ्चालन गर्न प्रतिपक्षी दल तयार हुनुपर्ने बताएका छन्।

गठबन्धन र ठूलो दलको हैसियतले कांग्रेसले नै अगुवाइ गरेर गतिरोध अन्त्यको पहल थाल्नुपर्ने भन्दै प्रमुख प्रतिपक्षले जुन मुद्धा सुन प्रकरणको विषय उठाएको छ त्यसलाई छलफलबाटै टुंगोमा पुर्याउनुको विकल्प नभएको बताए।

शनिबार राजधानीमा आयोजित कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेको कार्यक्रमलाई सम्बधोन गर्दै नेता सिंहले निरन्तरको संसद अवरोध छाडेर छलफलमार्फत समाधान खोज्न प्रमुख प्रतिपक्षी दललाई आग्रह गरे।

नक्कली सुन छानबिन प्रकरणमा सिआइबीको काम प्रति सबैले बिश्वास गर्नुपर्ने भन्दै नेता सिंहले गृहमन्त्रीले संसदमा उभिएर निश्चित समय सीमाभित्र छानबिन टुंगोमा पुर्याउन सिआइबीलाई जिम्मेवारी दिएको भनिसकेकाले यसपछि आउने नतिजामा चित्त नबुझे थप छलफलका लागि विपक्षी दल तयार हुन उचित रहने बताएका छन्।

उनले नेपाली कांग्रेसपनि निष्पक्ष छानबिनको पक्षमा रहेको भन्दै संसदलाई सञ्चालन गरेर जानुको विकल्प नभएको बताएका छन्। यत्तिका दिन संसद चल्न नसक्दा तमाम जनसरोकारकाका विधेयकहरू माथि छलफल हुन नसकेको भन्दै सबै दलहरूले संसदीय अभ्यासलाई आत्मसात गरेर जानुपर्नेमा उनले जोड दिए।

कांग्रेस संसदीय दलको बैठक जारि रहेकोले यस विषयमा छलफल चलिरहेको समेत उनले बताए।



प्रतिक्रिया दिनुहोस्

Screenshot