Logo

सुन्दर समाज सिर्जना गर्नु नै मेरो साहित्यिक आदर्श हो : उन्नति बोहरा



साहित्य वार्ता:

नाम : उन्नति बोहरा ‘शीला’
माता/पिता : पुष्पावती/डा.हर्षबहादुर बुढा
अध्ययन : त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र विषयमा स्नातकोत्तर
प्रथम प्रकाशित रचना ‘मेरो जिउँदो लाश’ वि.सं. २०२८ मादल पत्रिका (राँची)
प्रथम प्रकाशित कृति – वि.सं. २०५९ ‘कोसेली उसैलाई’ कवितासङ्ग्रह

कृतिहरू :
१. कोसेली उसैलाई (कवितासङ्ग्रह) – वि.सं. २०५९
२. भावनाका तरङ्ग (कवितासङ्ग्रह) – वि.सं. २०६२
३. अदृश्य घाउ (गीतिसङ्ग्रह) – वि.सं. २०६२
४. काफल पाक्यो (बालगीतमाला) वि.सं. २०६१
५. शीलाका स्पर्शहरू (गीतिसङ्ग्रह) वि.सं. २०६९
६ .सिक्काका दुई पाटा (उपन्यास) वि.सं. २०६३
७. टु फेसेस अफ अ कोइन– अङ्ग्रेजीमा अनूदित २००८ – जुलाई
८. सफ्ट सेन्सेसन (गीति सङ्ग्रह) – अङ्ग्रेजीमा अनूदित २०११
९. तृष्णा – उपन्यास वि.सं. २०७१
१०. फर्की आऊ शान्ति तिमी राष्ट्रिय गीतसङ्ग्रह —वि.सं. २०७५
११. यादहरूमा (सीडी अल्बम) – वि.सं. २०५९
१२. लहर – आधुनिक गीत – वि.सं. २०६०
१३. भुल भयो मबाट (सीडी अल्बम) – वि.सं. २०६१
१४. फर्की आऊ शान्ति तिमी – देशभक्ति गीत – वि.सं. २०६२
१५. मेरो आसक्ति – आधुनिक गीत – २००८ – जुलाई
१६. फेरि एकपल्ट – आधुनिक गीत – २००८ – जुलाई
१७. यो सिलसिला – आधुनिक गीत – २००८ – जुलाई
१८. मेरो मायालाई – आधुनिक गीत – २००८ – जुलाई
१९. मसँग नहुँदा – आधुनिक गीत – वि.सं. २०६७
२०. धर्तीको सन्देश – सन्देशमूलक गीत – वि.सं. २०७०
२१. यो लामो जीवनमा आधुनिक गीत अल्बम वि.सं. २०७२
२२. ‘मायाले बाँध
२३. सद्भावका फूलहरू
२४. सृजनाका रङहरू
२५. धर्तीको सन्देश

प्रकाशनोन्मुख कृतिहरू– बाल–कवितासङ्ग्रह ‘बिरुवा’,
उपन्यास ‘शून्य’ कवितासङ्ग्रह ‘धड्कन’ अङ्ग्रेजीमा अनूदित उपन्यास DESIRE

यहाँको लेखनकार्य विशेषतः साहित्य कहिलेबाट सुरू भयो ?

११ वर्षको उमेरमा वि.सं. २०२३ मा बालदिवसको उपलक्ष्यमा ‘आमा म हारेकी छैन’ देशभक्तिका कविता लेखेर वाचन गरेपछि मेरो साहित्य यात्रा सुरू भएको हो ।

कसबाट र कसरी प्रभावित हुनुभयो ?

पिताजीबाट नै प्रेरणा मिलेको हो । पिताजी स्वयं साहित्यकार हुनुभएकोले उहाँका गतिविधि पछ्याउन थालें ।

कसरी बढिरहेको छ त लेखन गतिविधि ? वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?

साहित्य सृजना कहिले द्रुतगति र कहिले मन्दगतिमा हुने गर्छ । समय परिस्थितिमा भर पर्ने कुरा हुन् । जे जति छन्– तिनै सिर्जनामा रमाएकै छु ।

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?

साहित्य र स्रष्टा अति संवेदनशील विषय भएकोले राष्ट्रले पनि संवेदनशील हिसाबले बुझ्नु जरुरी छ ।

तपाईंको साहित्यिक आदर्श के हो ?

साहित्य समाजको ऐना हो । समाजमा विद्यमान विकृति विसंगतिलाई औंल्याउँदै सुन्दर समाज सिर्जना गर्नु मेरो साहित्यिक आदर्श हो ।

वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?

यसको आँकलन गर्ने मेरो सामथ्र्य छैन ।

तपार्ईं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?

लेखक इमानदार हुन्छ भने सन्तुष्टि पक्कै मिल्छ ।

साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नु हुन्छ ?

हिजो र आजको साहित्य लेखनमा पक्कै फरक त भइहाल्छ नि ।

तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?

साहित्य जीवन र जगत्परक हुनुपर्दछ ।

लेखनप्रति केले प्रेरणा दिन्छ जस्तो लाग्छ ?

विभिन्न घटनाक्रम र जीवनका भोगाइले ठूलो प्रेरणा दिन्छ ।

तपाईंको लेख्ने निश्ति समय छ कि ? लेख्न कस्तो वातावरण चाहिन्छ ?

सिर्जनाका लागि कुनै निश्चित समय हुँदैन तर उपयुक्त समयको भने खाँचो पर्छ ।

लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?

सिर्जनाका लागि विषयवस्तु भनेकै भोगेका, देखेका र सुनेका घटना नै हुन् ।

सफल स्रष्टाका आवश्यक गुण के/के हुन् ?

सफल स्रष्टाको मूल्याङ्कन गर्ने मापदण्ड केलाई मान्ने थाहै भएन ।

साहित्यमा कुन विधाका पाठक धेरै भएको महशुस गर्नु हुन्छ ?

कविता नै हो जस्तो लाग्छ, छोटो मिठो ।

सिर्जनामा सजीवता र काल्पनिकमध्ये कुन बढी हुनुपर्ला ?

सिर्जनामा सजीवता सारतत्त्व हो भने कल्पना सौन्दर्य ।

लेख्नुपर्ने बाध्यता कतिबेला महशुस गर्नुहुन्छ ?

जब मानिस र समाज आफ्नो धर्म छोडी बाटो बिराएको हुन्छ–तब एउटा स्रष्टालाई लेख्न बाध्य बनाउँछ ।

नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि ?

लेखक भनेको स्वतन्त्र हुन्छ । उसको आफ्नै सोच, दृष्टिकोण र बौद्धिकता हुन्छ ।

किन कोही स्रष्टा दलको झण्डामुनि ओत लाग्ने रहर गर्दछन् ?

आत्मबल असाध्यै कमजोर भएर ।

अन्त्यमा केही भन्न छुटेको भए…

सही साहित्य सिर्जना गर्दा समाज राष्ट्रलाई नै मार्ग निर्देश गर्ने हुँदा ठूलो भूमिका खेल्ने हुन्छ ।

साहित्यकार नभएको भए के हुने सम्भावना थियो ?

साहित्यकार नभएको भए म समाजसेवामा रमाएकी हुन्थें होला ।



प्रतिक्रिया दिनुहोस्