Logo

एमसीसीको ५० अर्बसँग देशमाथि सौदाबाजी गर्न पाइँदैन, विदेशी बैंकमा खोजौं न, एउटै नेपालीको ५० अर्ब छ: विप्लव



काठमाडौं, १४ भदौ । अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयनमा आएसँगै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा यतिबेला उक्त परियोजनको विरोधमा छ । एमसीसी कार्यान्वयन हुनु नेपालको स्वाधीनता, सार्वभौम सत्ता र नेपाली जनताको भविष्यमाथिको कुठराघात भएको नेकपाको बुझाइ छ । नेकपाले नेपालमा एमसीसी कार्यान्वयन हुन नदिने र यसको विरोधमा उत्रिनेलाई सरकारले कारबाही गर्ने, दुःख दिने गरेमा अर्का २०५२ साल (जनयुद्ध) व्युँत्याउने चेतावनी दिँदै आएको छ । एमसीसीबारे नेकपाको बुझाई, विरोध गर्नुका कारण र एमसीसीबाट देश कसरी खतरामा छ ? लगायतका विषयमा प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलाले ‘विप्लव सी’  सँग गर्नुभएको संवादको सम्पादित अंशः

तपाई नेत्रविक्रम चन्दबाट विप्लव सी कसरी बन्नुभयो ?

यो हाम्रो नयाँ निर्णय हो । खासगरी नेपालमा जातीहरुबीचको वहस लामो समयदेखि चलिआएको र पुरानो जातीले मान्छे सन्तुष्ट हुन नसकेको नयाँ जाती दिन नसकेको बीचबाट हामीले सबै जाती भनेको मान्छे हुन आखिर । मुख्य कुरा मान्छे हो । मान्छेमा तल, माथि, सानो, ठूलो, उच, निच हुँदैन । त्यो एउटै हो भन्ने भावलाई व्यक्त गर्नका लागि हामीले सी नयाँ जाति सुरु गरेका छौं ।

सी को परिभाषा कसरी गर्ने ?

सी भनेको चाहिँ साम्यवादी अथवा समवादी भन्ने हो ।

त्यसो भए अब तपाईले नेत्रविक्रम चन्द नलेख्ने ?

लेखिँदैन । म नागरिकता पनि विप्लव सी बाट लिने तयारी गर्दै छ्ु । अहिले त कानुन पनि पास भएको छ । आफूले चाहेको थर र जाति लेख्न पाउने भन्ने भएको छ । त्यसलाई हामीले समाज रुपान्तरण र सभ्यता निर्माणको पक्षमा प्रयोग गरौं । यो हाम्रो पार्टीको नवौं महाधिवेशनको निर्णय हो ।

पार्टीभित्र यो निर्णय कार्यान्वयन हुन्छ ? विवाद छैन ?

कुनै समस्या छैन । अहिले जिल्ला समितिसम्म एकरुपतामा कार्यान्वयन भएको छ । त्यसपछि एरिया समिति र पार्टी सदस्यमा जान्छ । विस्तारै जनतामा पनि जान्छ ।

विप्लव सी आज किन एमसीसीको विपक्षमा त ? के कारण ?

यो पनि नयाँ सभ्यताकै लडाईँ हो । नेपालमा अमेरिकन प्रोजेक्ट एमसीसी आयो । भन्न त बाहिर सहयोगको नाम दिइएको छ । तर, यो अमेरिकी सैन्य रणनीतिअन्तर्गत आएको छ । अमेरिकन विश्व राजनीतिको स्वार्थ पुरा गर्नेगरी यो आएको हो । त्यसैले हामीले यो सहयोग होईन, सम्हार हो, विकास होईन विनास हुन्छ, हाम्रो देशलाई उनीहरुको नियन्त्रणभित्र पुर्याउँदैछ भन्ने भएपछि आजदेखि होईन हामीले जतिबेलादेखि एमसीसीको प्रावधान आयो, यसलाई अमेरिकाले इन्डो प्यासिफिक रणनीति अन्तर्गत जोड्यो, एसपीपी जोड्यो । त्यसपछि हामीले विरोध गरेका हौं । नेपाली जनताले नै यसलाई विरोध गर्दै आइरहेका छन् ।

एमसीसी आजको आवश्यकता हो । विकास र समृद्धिको शुत्राधार हो भनेर नेपालमा वहस जारी छ । प्रधानमन्त्री प्रचण्ड, शेरबहादुर देउवा केपी शर्मा ओली, सबैको भनाई छ, एमसीसी नेपालको लागि आवश्यक छ । नेपालको हितमा छ । सडक विस्तार नगर्ने ? टान्समिसन लाईन नबनाउने ?

यो उहाँहरुको अन्तरआत्माको कुरा होईन । उहाँहरुको अलिकति लाहचारी, सत्ता स्वार्थद्वारा प्रेरित अभिव्यक्ति हो । हामीसँग छलफल हुँदा सबैले भन्नुहुन्छ, एमसीसीले ल्याएको खतरा र चुनौति गम्भीर छ भनेर सबैले भन्नुभएको छ । एमाले र माओवादी विभाजन हुनुको मुख्य कारण एमसीसी हो । केपी ओलीले जब संसद्मा पास गर्ने भनेर टेबुल गर्न खोज्नु भयो । त्यतिबेला सिंगै माओवादी र एमाले मिलेर बनेको नेकपामा बहस भयो । एउटा अध्ययन समिति नै बनाइयो । झलनाथ कमरेडको नेतृत्वमा । त्यसले के निष्कर्ष निकालल्यो भने यो राष्ट्रको हितमा छैन । यसमा हामी जान हुँदैन भन्ने निष्कर्ष निकालेर केपी ओली अल्पमतमा, नेकपाका धेरैभन्दा धेरै संख्याले अस्वीकृत गरेको हो ।

संसद्मा त सबैले साथ दिए । एमसीसीको पक्षमा सबै पोलिटिकल पार्टी एक भए त ?

होईन, अमेरिकनहरुको दवाबलाई झेल्न नसकेको प्रष्ट देखिन्छ । दोस्रो कुरा नेताहरुको चाहना सत्तामा बस्ने र चलाउने त हुन्छ नै । त्यसले पनि काम गरेको छ । उहाँहरुले देशलाई बुझ्न सक्नु भएको छैन । बुझेपनि त्यसलाई ग्रहण गर्नुभएन भन्ने हाम्रो बुझाई छ । देशलाई माया नै गर्दैनन् म भन्दिन, नेताहरुले माया गर्लान् तर, त्यो मायालाई व्यक्त गर्न सक्नुभएन । उहाँहरुले त हाम्रो नयाँ पुस्तालाई धेरै परसम्म क्षति हुने सम्झौता गर्नुभएको छ । एमसीसीलाई संसदले अनुमोदन गर्यो त्यो घातक छ । यो जनताको जनमत पनि होईन ।

नेपाल र नेपालीको हितमा अनुदान आउँछ भने नलिने ?

नेपालको भविष्य ५० अरबको कु्रा हो र ? नेपाल देशको स्वाधीनता र सार्वभौमिकताको मूल्य, नेपाली जनताको भविष्यको मूल्य जम्मा ५० अरब हो ? त्यसरी ५० अरबसँग सिंगै देशको भविष्यमा सौदाबाजी गर्न पाईन्छ ? ५० अरब त यहाँ एउटै मान्छेसँग होला । त्यसलाई खोज्ने हो भने । स्वीजरल्याण्ड, बेलायतमा लुकाएर राखेको पैसा, या अन्य कयौं अन्तराष्ट्रिय बैकमा राखेको पैसा खोज्ने हो भने नेपाली एउटै मान्छेको होला ५० अरब त । आफ्नो पुँजीको निर्माण र संरक्षण गर्न नसक्ने अनि अमेरिकाले दिएको ५० अरबबाट नेपाल झिलिमिली हुन्छ भनेर सोच्नु भनेको योजस्तो हालचारीपन के हुन्छ ?



प्रतिक्रिया दिनुहोस्