Logo

बालेनले लागूपदार्थ सेवनपछि विवादास्पद अभिव्यक्ति लेखेको नेता श्रेष्ठको आरोप



काठमाडौं, १८ भदौ । नेकपा (एकीकृत समाजवादी) का नेता रामेश्वर श्रेष्ठले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले लागू पदार्थ खाएर सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्ति लेखेको आरोप लगाएका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले होसमा रहेको व्यक्तिले त्यस्तो लेख्न नसक्ने बताए ।

‘कि उहाँको होसहवास गुमेर भनेको हुनुपर्छ, कि उहाँ नशामा, नशा पिएर त्यो लेखेको हुनुपर्छ । जो मान्छे होस्मा हुन्छ त्यो मान्छेले यस्तो लेख्दैलेख्दैन । शनिबार श्रीमती चढेको सरकारी गाडी रोक्यो भनेर सरकार चोर, सिंहदरबारमा आगो लगाइदिन्छु भनेर भन्दैभन्दैन ।’ उनले भने, ‘कि होस गुमेर लेखेको हुनुपर्छ, कि त लागूपदार्थ खाएर त्यो लेखेको हुनुपर्छ ।’

ट्राफिक प्रहरीले महानगरको गाडी रोकेर अनावश्यक दुःख दिएको भन्दै उनले फेरि घटना दोहोरिए सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका थिए ।

‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार !’उनले सामाजिक सञ्जालमा लेखेका थिए ।

बालेनको अभिव्यक्तिलाई लिएर व्यापक आलोचना भएपछि हिजो (आईतबार) महानगरले विज्ञप्तिनै जारी गरेको थियो । महानगरले जारी गरेको विज्ञप्ति अनुसार सुत्केरी अवस्थामा रहेकी बालेकी श्रीमती चढेको गाडीलाई ट्राफिक प्रहरीले अनावश्यक दुःख दिएको र मानवीय संवेदनशीलताको समेत ख्याल नराखेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot