Logo

ओलीको टिप्पणी: शेरबहादुर पनि प्रचण्डका कार्यकर्ता भए



काठमाडौं,७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले गठनको ९ महिनासम्म पनि सिन्को भाँच्न नसकेको दाबी गरेका छन् ।

आइतबार ओखलढुङ्गाको रामपुरमा गुरु लुइँटेल स्मृति पार्कको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले नौ महिनामा सरकारले एउटा सिन्को पनि नभाँचेको हुँदा दाहाल नेतृत्वको सरकारलाई जसरी पनि ढाल्नुपर्ने बताए ।

ओलीले संसद्मा सबैभन्दा ठूलो दलको हैसियतमा रहेको नेपाली कांग्रेसले सत्ताको नेतृत्व गर्न डराएको टिप्पणी गरेका छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवा विचरा भन्ने अवस्थामा पुगेको बताएका छन् ।

उनले भने ‘ यो भूमिमा लिला, ठगी, गोकर्ण, खगेन्द्र र क्याप्टेन यज्ञवहादुर थापाहरुले रगत बगाए कांग्रेसको झण्डा बोकेर । तर पटकपटक सरकारमा गएर पनि उनीहरुलाई कांग्र्रेसले सहिदको दर्जा दिएन । म २०७२ मा प्रधानमन्त्री भएपछि मन्त्रिपरिषदबाट निर्णय गराएर सहिदको रुपमा सम्मान दिएँ । क्याप्टेन यज्ञवहादुर थापालाई मसँगै जेलमा बसेका बेला गोलघरबाट निकालेर २०३५ माघ २६ घते गोली हानेर मारिएको थियो । तर कांग्रेसले ती सहिदलाई सम्झिदैन,अहिले त विचरा शेरवहादुर देउवा प्रचण्डको कार्यकर्ता भएर पछिपछि हिँडिरहेका छन् । सरकारले क्वीन्टलका क्वीन्टल सुन दैनिक निकाल्छ,कांग्रेसलाई देख्नुभयो भनेर सोध्यो भने अहाँ भनेर मुन्टो बटार्छ । विचरा यस्तो निरीह छ कांग्रेस’ ।

 



प्रतिक्रिया दिनुहोस्