Logo

सुन प्रकरण छानबिन गर्न सत्तापक्षले बनाएको आयोगको मस्यौदा बोकेर एमाले नेताहरु बालकोटमा



काठमाडौं,७ असोज । गत साउन ३ गते सिनामंगलबाट बरामद भएको ६० किलो ७१६ ग्राम सुन बरामद प्रकरणको सत्यतथ्य छानबिन गर्न गठन गर्न लागिएको उच्चस्तरीय आयोगको कार्यादेशलाई लिएर दलहरु विभाजित बनेका छन् ।

आइतबार कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काको कार्यकक्ष रक्षा मन्त्रालयमा भएको सर्वदलीय छलफल निष्कर्षवीहिन बनेको हो । आजको छलफलमा सत्ता साझेदार दलहरुले एकलरुपमा तयार पारेको आयोगको कार्यादेश समेटिएको मस्यौदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई दिएका थिए ।

सत्तारुढ दलले उपलब्ध गराएको मस्यौदाप्रति एमालेले अुन्तुष्टि जनाएको छ । एमालेले सुन बरामद प्रकरणमा नाम जोडिएका सबैलाई छानबिनको दायरामा ल्यानुपर्ने बताउँदै आएको छ । भने, सत्तापक्षले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले गरेको अनुसन्धानलाई प्रभावित नपारी छानबिन गर्नुपर्ने बताउँदै आएको छ । सत्तापक्ष र प्रतिपक्षीबीच आयोगको कार्यादेशबारेमा पनि मत नमिलेपछि आजको छलफल कुनै निष्कर्षमा पुग्ना नसकेको हो ।

छलफलमा सत्तारुढ दलका तर्फबाट प्रमुख सचेतकहरु उपस्थित भएका थिए । भने प्रतिपक्षी दल एमालेको तर्फबाट उपाध्यक्ष विष्णु पौडेल र सचेतक महेश बर्तौला सहभागी थिए । सत्तारुढ दलले उपलब्ध गराएको मस्यौदा बोकेर अहिले एमाले नेताहरु अध्यक्ष केपी शर्मा ओलीको निजी निवास भक्तपुरको बालकोट पुगेका छन् । एमालेले अध्यक्ष ओलीसँग परामर्श गरेर जवाफ दिने जानकारी गराएको छ ।

सुन तस्करी प्रकरणलाई लिएर एमालेले निरन्तर संसदमा अवरोध गरेपछि दलहरूबीच उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति भएको थियो । सहमतिमा सीआईबीको अनुसन्धान सकिएपछि असोज ५ गतेदेखि काम थाल्ने गरी आयोग गठन गरिने उल्लेख थियो ।

 



प्रतिक्रिया दिनुहोस्