Logo

गठबन्धनका कारण सरकारले कतिपय अप्रिय निर्णय पनि लिनुपर्छ : माओवादी नेता



काठमाडौं, १९ असोज । नेकपा (माओवादी केन्द्र) का नेता एवं सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता खगराज भट्टले प्रमुख प्रतिपक्षी नेता केपी शर्मा ओलीका आरोपहरू सत्ताबाट बाहिर बस्नुपर्दाको छटपटी मात्र भएको दाबी गरेका छन् ।
‘केपी ओली साढे तीन वर्ष प्रधानमन्त्री बन्नुभयो, तर सुनकाण्ड, भुटानी शरणार्थी काण्ड, ललिता निवास प्रकरणमा किन अनुसन्धान गर्नुभएन ? आफ्नो पालामा कुनै भूमिका निर्वाह नगर्ने अनि सुशासनको पक्षमा यति धेरै काम हुँदा केही पनि भएन भन्ने हो भने गर्ने के हो ? यो सबै सत्ताबाहिर बस्नुपर्दाको छटपटी हो । सबैबाट एक्लिनुपर्दाको छटपटी हो । पार्टीभित्र आफ्नो वर्चस्वमाथि चुनौती आइरहँदाको छटपटी हो,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली राजनीतिमा सबभन्दा धेरै बेथितिको सर्जक भएको आरोप पनि भट्टले लगाए । उनले भने, ‘नेपाली राजनीतिमा सबैभन्दा अहंकारी को हो ? सबभन्दा असहिष्णु को हो ? सबभन्दा धेरै बेथितिको सर्जक को हो ? संवैधानिक व्यवस्थाविरुद्ध उभिने को हो ?’
माओवादी नेता भट्टले गठबन्धनका कारण सरकारले कतिपय अप्रिय निर्णय गर्नुपरेको बताए । उनले भने, ‘यो हाम्रो एकलौटी सरकार होइन । गठबन्धनको सरकार हो । हामीले नेतृत्व मात्र गरेको हो । गठबन्धनका कारण कतिपय अप्रिय निर्णय पनि गर्नुपर्ने हुन्छ । जुन राम्रो निर्णय गरेको छ, त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्दै जानुपर्छ, नराम्रो निर्णयलाई सच्चाउँदै अघि बढ्नुपर्छ ।’
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार इतिहासमा सबभन्दा गर्व गर्न सक्ने सरकार भएको दाबी पनि भट्टले गरे । उनले भने, ‘यो सरकारले जनतालाई केही नगरेको भन्ने मलाई लाग्दैन । सुशासन, अर्थतन्त्र संकट समाधान, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर् याउने, अन्तर्राष्ट्रिय सम्बन्ध बढाउने आदि धेरै काम गरेको छ । सुदूरपश्चिमको कुरा गर्ने हो भने झुलाघाटमा पुल निर्माण, सुदूरपश्चिम विश्वविद्यालय स्थापना, दशरथ मेडिकल युनिर्भसिटी स्थापना र सुख्खा बन्दगाहको पहल भएका छन् । प्रचण्डको सरकारले आफ्नो सामथ्र्यले भ्याएसम्मका काम गरेको छ । यो इतिहासमै गर्व गर्न सकिने सरकार हो ।’
भट्टले आज प्रधानमन्त्री प्रचण्डले अवलोकन भ्रमण गरेपछि बझाङका भूकम्पपीडितले परिणाम पाउने विश्वास व्यक्त गरे । सरकारले सबै घाइतेको निःशुल्क उपचार जिम्मा लिने र राहत र उद्धारलाई तीव्रता दिने निर्णय गरिसकेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्