Logo

सरकार सामाजिक न्याय, सुशासन र भ्रष्टाचारविरुद्धको लडाइँमा दृढताका साथ अघि बढिरहेको छः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २० असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको बताएका छन् । पार्टीका नेता एवं वामपन्थी लेखक राम कार्की ‘पार्थ’को कृति ‘विकल्पः समता, समाजवाद र मुक्त दुनियाँ’ लोकार्पण कार्यक्रममा उनले मुलुकमा देखिएका सङ्कट भर्खर भएको हो वा पुरानाका परिणाम हुन् भनी समीक्षा गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले भने, “अहिलेको सङ्कट दक्षिणपन्थी वा वामवन्थीका कारण उब्जेको हो भन्ने विषय गम्भीर छ, माक्र्सवादलाई धर्मशास्त्र र सूत्रका रूपमा होइन, वैज्ञानिक र वैचारिक सुधारको बाटोका रूपमा बुझ्नुपर्छ ।”

आफ्नो नेतृत्वमा भएको जनयुद्धलाई अझै पनि केहीले गल्ती र हिंसात्मक रहेको भनी टिप्पणी गर्ने गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले परिवर्तनका वाहकलाई कतिपयले दोषारोपण र कमजोर पार्ने प्रयास भइरहेकोतर्फ पार्टीपङ्क्तिलाई सजग गराए ।

दर्शन, राजनीतिक र सामाजिक क्रान्तिका विषयमा चर्चा गर्न सजिलो नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले क्रान्तिको परिणाम भनेको शक्तिशाली प्रतिक्रान्तिद्वारा ठीक बाटो पक्रेर अघि बढ्नुभएको बताए । क्रान्ति र प्रतिक्रान्ति सामाजिक विज्ञानको अनिवार्य नियम भएको बताउँदै उनले एकपटक क्रान्ति गरेपछि त्यो सधैँका लागि हुन्छ भन्ने मानसिकताबाट माथि उठेर मात्र निरन्तर क्रान्ति सम्भव रहने बताए ।

पार्टी र सरकारले गरेका राम्रा कामको मूल्याङ्कन हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले क्रान्तिकारीमाथि प्रहार गर्दा दक्षिणपन्थीको शिर उठ्ने अवस्थाले हित नगर्ने धारणा राखे । पार्टीले अगाडि बढाएका आर्थिक विकासका मुद्दामा सहयोग र समर्थन गर्न आग्रह गर्दैै उनले माक्र्सवादको प्रयोगद्वारा सामाजिक न्याय, सुशासन र भ्रष्टाचारविरुद्धको लडाइँमा सरकार दृढताका साथ अगाडि बढिरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot