Logo

देवी दुर्गाको प्रिय पुष्प- जौको जमरा



आज आश्विन शुक्ल प्रतिपदा हो । आश्विन शुक्ल प्रतिपदामा घटस्थापना गरिन्छ । घटस्थापना गरेपछि दसैंको सुरुवात हुन्छ । घटस्थापना भनेको जमरा राख्ने दिन हो । पूजाकोठा वा दसैंघरमा नवदुर्गा भवानीको पूजा गरी शुद्ध माटो र बालुवा ल्याएर वेदी बनाई धान, जौमाथि घटस्थापना गर्नुपर्ने हुन्छ । घट (घडा) चाँदी, तामा, माटो आदिका हुन्छन् ।
धान वा जौ टुसा आउने खालको हुनुपर्छ । कसैकसैले मकैको जमरा पनि राख्छन् । तर खासमा जौबाट जमरा राख्नुपर्छ । जौको पुष्प वा अंकुर देवीका लागि असाध्यै प्रिय हुन्छ । त्यसले देवीलाई स्वस्थ बनाउँछ र सजिलरी सृष्टि सञ्चालन गर्ने शास्त्रीय मान्तयता छ ।
घटस्थापना बडादसैंको पहिलो दिन हो । घटस्थापना घट भनेको १० दिन मनाउने भएकाले यसलाई दसैं भनिएको हो । दसैंका विभिन्न नाम छन् । दुर्गाको पूजा हुने भएकाले दुर्गोत्सव र शरद ऋतुमा मनाइने भएकाले शारदोत्सव भन्ने चलन छ ।
नवरात्रभरि महाकाली, महालक्ष्मी र महासरस्वती दुर्गा भगवतीको पूजा, आराधना एवं उपासना हुन्छ । महाकाली शक्तिकी अधिष्ठात्री देवी हुन् । उनको उपासनाले शक्ति प्राप्त हुन्छ । महालक्ष्मी धन, सम्पत्ति र ऐश्वर्यकी अधिष्ठात्री देवी हुन् भने महासरस्वती विद्या, विवेक र बुद्धिकी अधिष्ठात्री देवी हुन् ।
सन्त महन्थ र महात्मालाई यो कुराको मतलब नहोला । तर, हामीलाई गृहस्थीमा बस्नेलाई धन, सम्पत्ति, शक्ति र विद्या बुद्धि सबथोक चाहिन्छ । यी तीन कुरा नभईकन कसैको जीवन अघि बढ्दैन । शक्ति स्वरुपिणी दुर्गाामाताको पूजा मानवमात्रको कल्याणका लागि हो । यो कुनै जाति, लिंग, वर्ण विशेषको भन्दैन शास्त्रले । शक्ति, सम्पत्ति र विद्या–बुद्धि सबैलाई चाहिने चिज हो । नवदुर्गाको पूजा गरेर सुखमय, शान्तिमय, आनन्दमय र पारलौकिक सद्गति प्राप्त गर भन्ने शास्त्रगत मान्यता छ ।
दसैं सबैका लागि प्रिय छ । सुख, शान्ति र पारलौकिक सद्गति कसलाई चाहिँदैन ? यसमा परिवार, आफन्त र कुलकुटुम्ब एक ठाउँमा जम्मा हुने, रमाइलो गर्ने कुरा छ । चन्द्र र सूर्य सबैको भनेजस्तै हुन् देवी पनि सबैकी हुन् । चन्द्र र सूर्य सबैतिर लाग्छन् । कसैलाई पक्षपात गर्दैनन् । देवीले पनि यो मेरो, त्यो तेरो भन्दिनन् । दसैंमा सबै मिलेर मनाऊँ भन्ने भावना छ ।
नवदुर्गाको पूजा तीनथरी प्रचलनमा छन् । सात्विक पूजामा फूल पुष्प, अर्घ आदि प्रयोग हुन्छ । राजसमा फूल पुष्प, अर्घका अतिरिक्त पशुपक्षीको बलि समेत दिइन्छ भने तामसमा पूजामा फूल पुष्प अर्घ, बलि मात्र होइन, रक्सीसमेत राखेर चढाउने चलन छ ।
कसै कसैको घटस्थापना नगर्ने तर जमरा राख्ने चलन हुन्छ । कसैले प्रतिपदाका दिन राख्छन्, कसैले द्वितीया दिन गर्छन । शास्त्रीय मान्यता अनुसार दुर्गाको पूजा गरेर मात्र जौ रोप्नुपर्छ । कसैले आजबाट दशमीसम्म पूजा गर्छन् । कसैले सप्तमीदेखि मात्र पूजा गर्छन् । आफ्नो परम्परा जे छ, हामीले त्यसै अनुसार गर्ने पूजा उपासना गर्ने हो । नवदुर्गा मनोवाञ्छा सिद्ध गर्ने देवी हुन् । तर, यसमा श्रद्धा, विश्वास र निष्ठा हुनुपर् यो । देवीले धन, सम्पत्ति, शक्ति, विद्या, बुद्धि र विजय सबथोक दिन्छिन् । उनको शक्तिकै कारण सुण्डमुण्ड, महिषासुर आदिको वध हुन सक्यो ।
राज्यले लोक चलाउन मन्त्री राख्छन् । त्यस्तै देवीले सबै सहयोग लिएर सम्पूर्ण ब्रह्माण्डको सञ्चालन गर्छिन् । नवदुर्गा र अष्टमातृका देवीका सहयोगी हुन् । नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ गरिन्छ ।
प्राध्यापक रामचन्द्र गौतमसँग नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलाले गरेको कुराकानीमा आधारित



प्रतिक्रिया दिनुहोस्

Screenshot