Logo

दीपेन्द्रलाई मैदान फर्काउने प्रयासमा छौंः प्रशिक्षक मोन्टी



काठमाडौं,१६ कार्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाइले सिंगापुरविरुद्धको खेलअघि घाइते भएका नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई मैदान फर्काउने प्रयास भइरहेको बताएका छन्।

बिहीबार आइसिसी टी-२० विश्वकप छनोटअन्तर्गत ओमानसँगको खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै मोन्टीले दीपेन्द्रलाई मैदान फर्काउन सबै काम गरिरहेको बताए।

‘दीपेन्द्र हाम्रा लागि महत्वपूर्ण खेलाडी हुन्। उनको उपचारमा हामीले सक्ने जति सबै काम गरिरहेका छौं। यो प्रतियोगिता नेपालका लागि मात्र नभएर उनका लागि पनि महत्वपूर्ण छ’ देसाइले भने।

ओमानसँग बिहीबार पराजित भएको नेपालले भोलि हुने सेमिफाइनलमा युएईसँग ख‍ेल्दैछ। युएईलाई हराए नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुनेछ।

युएईविरुद्धको खेलका लागि दीपेन्द्र फर्कन्छन् वा फर्कन्नन् भन्नेबारे उनले केही खुलाएनन्।

दीपेन्द्र यसअघि सिंगापुरविरुद्धको खेलअघि घाइते भएका थिए। सोही दिन उनलाई उपचारका लागि मेडिसिटी अस्पताल पुर्‍याइएको थियो। उनको गोलीगाँठोमा चोट लागेको थियो। दीपेन्द्र घाइते भएपछि विवेक यादवले नेपाली टिमबाट खेलेका थिए। विवेकले बिहीबार अन्तिम ओभरमा लगतार तीन छक्का हिर्काएर खेललाई रोमाञ्चक मोडमा पुर्‍याएका थिए।

दीपेन्द्रको स्थानमा टिममा मौका पाएका विवेकको आजको प्रदर्शनप्रति प्रशिक्षक देशाईंले खुसीसमेत व्यक्त गरेका छन् । । ‘नराम्रोमा पनि एउटा कुरा सधैं राम्रो हुन्छ । यो एउटा राम्रो उदाहरण हो । हामीले एउटा अर्को खेलाडी भेटाएका छौं,’ उनले भने, ‘नेपाल क्रिकेट भर्खरै सुरु भएको छ । हाम्रो फोकस भनेको नेपाललाई एउटा सम्पूर्ण क्रिकेट राष्ट्र बनाउने हो । त्यसैले आज विवेकको अप्रोच देखेर निकै खुसी छु ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot