जाजरकोट, १९ कात्तिक । भूकम्पको केन्द्र विन्दु रहेको बारेकोटका स्वास्थ्य संस्थाको भौतिक संरचनमा क्षति पुगेपछि यतिबेला खुला चौरमा सेवा सुरु गरिएको छ । दश शय्याको अस्पतालको रुपमा विकास भएको लिम्सास्थित स्वास्थ्य संस्थाको भवन भूकम्पका कारण भत्किएपछि खुला स्थानमा सेवा सुरु गरिएको हो ।
गाउँपालिकाको आधाभूत स्वास्थ्य तथा सरसफाइ सेवा समेत खुल्ला चौरमै दिनुपरेको वरिष्ठ अनमी कल्पना रोकायले बताए । भूकम्पले भवन चर्काएपछि एम्बुलेन्स राख्न स्थानमा आवश्यक उपकरणको व्यवस्था गरी घाइतेका उपचार सुरु गरिएको उनको भनाइ छ ।
जाजरकोटका विभिन्न स्थानमा अहिले पनि भूकम्पका पराकम्पन गइरहेकोले सेवा प्रवाहमा समस्या भएको उनले बताए । भूकम्पको केन्द्रविन्दु रामीडाँडा गाउँपालिकाको केन्द्रबाट झण्डै चार किलोमिटरको दुरीमा पर्छ । रासस