Logo

किसानलाई अलैँची भित्र्याउन चटारो



फुङ्लिङ (ताप्लेजुङ), २१ कात्तिक । ताप्लेजुङका किसानलाई अलैँची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ । दसैँ सकिएसँगै किसान अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । ताप्लेजुङमा असोज–मङ्सिर महिना अलैँची थक्याउने मुख्य समय हो । अलैँची ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गरिन्छ । बेँसी क्षेत्रमा साउनदेखि लेकाली क्षेत्रमा मङ्सिर तेस्रो सातासम्म अलैँची टिपाइ हुन्छ ।

अहिले मध्यभागमा अलैँची थन्क्याउने मुख्य याम भएकाले किसानलाई चटारो छ । अलैँची सङ्कलन ढिलो गरेमा वन्यजन्तुले खाएर क्षति पुर्याइदिने हुँदा किसानलाई अलि बढी चटारो लागेको पाथीभरा याङवरक गाउँपालिका–१ थेचम्बुका ज्ञानबहादुर गुरुङले बताए । अलैँची थन्क्याउने यामका कारण चाडपर्व सहज गरी मनाउनै नपाएको उनले बताए । मुख्य याम भएकाले चाडपर्वमा पनि अलैँची बारी (बगान) मै बिताउनुपरेको फक्ताङलुङ गाउँपालिका–६ मादिबुङका वसन्त लिम्बूले बताए । तिहार अलैँची बगानमै मनाउने उनको योजना छ ।

फुङ्लिङ नगरपालिका–६ बिहीबारेका खाङ्डु शेर्पाले पनि अलैँची टिप्न, छोडाउन र सुकाउनमै दसैँ बितेको बताए । घरमा बसेर चाडपर्व मनाउन थाल्दा जङ्गली जीवजन्तुले धेरै क्षति गर्ने भएकाले चाडपर्व नभनी अलैँची टिप्न र थन्क्याउनमा व्यस्त हुनुपरेको उनले बताए । अलैँची खेतीमा संलग्न जिल्लाभरका किसानलाई अहिले अलैँची भित्र्याउन भ्याइनभ्याइ छ । जिल्लाका नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङ्लुङ–७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती गर्दै आएका छन् । जिल्लामा करिब चार हजार चार सय ५० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । ताप्लेजुङमा प्रतिमन (४० किलो) खलैँची ५५ हजारमा खरिद बिक्री हुँदै आएको छ ।

अलैँची बगानमा रोजगारी

फुङ्लिङ–७ बिहीबारे क्षेत्रमा रहेको अलैँची बगानमा पूर्ण राई अलैँची टिपाइमा व्यस्त छन्। उनी पाथीभरा याङवरक गाउँपालिका–१ नाङखल्याङबाट अलैँची टिप्न रोजगारी गर्न फुङ्लिङसम्म आएका हुन् । दसैँ सकेलगत्तै राई घरबाट निस्केका हुन्। बिहान उठेपछि अलैँची टिप्न बगानमा पसेको राई साँझमात्र बगानबाट बाहिर निस्कन्छन् । उनी साँझ–बिहानको खाना खाजा पनि अलैँची बगानमै खान्छन् । बिहान र दिनभरि टिपिएको अलैँचीको थुङ्गा बगान नजिकै रहेको अलैँची सुकाउने भट्टीमा जम्मा गर्छन् । दिनभरि टिपिएको अलैँचीको थुङ्गा बेलुका १० बजेसम्म छोडाउनु राईको अहिले दैनिकी बनेको छ ।

पाथीभरा याङवरक–१ नाङखल्याङ गाउँका पूर्ण राईसँगै सात जना घर छाडेर अलैँची टिप्न फुङ्लिङ पुगेका हुन् । गाउँमा रोजगारी नभएपछि रोजगारी खोज्दै फुङ्लिङ–६ अवस्थित अलैँची बगानमा आइपुगेको नरप्रसाद राईले बताए । उनी तिहारसम्मै बगानमै बसेर अलैँची टिप्ने, ओसार्ने, भट्टी लगाउने काममा व्यस्त छन्। देउसीभैलो खेल्नेलाई दान दक्षिणा दिनका लागि खर्च जुटाउन अलैँची बगानमा रोजगारी गर्न थालेका हुन् । अलैँचीमै बसेर टिप्ने, छोडाउने र सुकाउने मजदुरलाई प्रतिदिन पाँच सयदेखि सात सयसम्म ज्याला दिने गरेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्