Logo

टिकटक बन्द गरेर सरकारले सद्दाम हुसैन शैली देखायो : कानुनविद्



काठमाडौं, २९ कात्तिक । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले लोकप्रिय सामाजिक सञ्जाल टिकटक बन्द गरेर सरकारले सद्दाम हुसैन शैली देखाएको आरोप लगाएका छन् ।
‘सामाजिक सञ्जालहरुमा विकृतिजन्य सामग्री आइरहेका छन् । यसमा विवादै छैन । तर सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्यो र सरकारकी प्रवक्ताले आजबाट टिकटक बन्द भयो भन्दिनुभयो । यो त सद्दाम हुसैन शैली भयो नि । समाजमा अपराध हुन्छन् । तर जतिसुकै अपराध भए पनि कानुनी बाटो पो अवलम्बन गर्नुपर्छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
भट्टराईले सरकारले ल्याएको सामाजिक सञ्जाल सम्बन्धी निर्देशिकालाई संविधानले नचिन्ने बताए । उनले थपे, ‘चीनका व्यापारीले बनाएको प्लेटफर्म बन्द गर्नुपर्छ भनेर एउटा पक्ष लागेको छ । राजा ज्ञानेन्द्रले एफएम बन्द गरे । ज्ञानेन्द्रले गरे गलत हुने, अरुले गर्दा गलत नहुने ? गलत कुरा जसले गरे पनि गलत नै हुन्छ । संविधानको धारा १७ ले दिएको मौलिक अधिकारलाई कार्टेल गर्न मिल्दैन ।’ साथै उनले टिकटकमा शैक्षिक, सामाजिक, साहित्यिक, कानुनी आदि विषयमात्र उठाउन पाउने, सरकारी कार्यालयमा बन्द गर्ने र टिकटक कम्पनीलाई यति दिनभित्र दर्ता हुन आऊ भन्ने सूचना दिनु आवश्यक रहेको औंल्याए ।
उनले न्यायपालिकामा राजनीतीकरण भएकाले समयमै न्यायाधीश नियुक्ति हुन नसकेको आरोप पनि लगाए । उनले भने, ‘दलहरुको प्रत्यक्ष र देखिने खालको हस्तक्षेपको सुरुवात खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाएपछि भयो । न्यायाधीश भनेका हाम्रा गोटी हुन्, हामी जे इशारा गर्छौं, त्यही गर्छन् भन्ने पर् यो । न्यायपरिषद्को बैठक पटकपटक बसेको छ । तर न्यायाधीश नियुक्ति हुन सकेको छैन । प्रधानमन्त्री, मन्त्री र कांग्रेसको गुटको तानातानले नियुक्ति हुन सकेन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot