Logo

बागमती प्रदेशको शानदार विजयी सुरुवात, सन्दीपले लिए चार विकेट



काठमाडौं,७ मंसिर । आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीको टिम रातोलाई हराउँदै टिम बागमतीले केपी ओली कप टी-२० मा आफ्नो विजयी सुरुवात गरेको छ ।

आजबाट गण्डकी प्रदेशको पोखरमा सुरु भएको केपी ओली कपको उद्घाटन खेलमा बागमती प्रदेशले मदन भण्डारी स्पोर्टस्को टिम रातोलाई १०९ रनले हराएको छ ।

बागमतीले दिएको १८५ रनको विशाल लक्ष्य पछ्याएको रातो टिम १४।२ ओभरमा ७५ रन बनाउँदै आउट भएपछि बागमतीले शानदार विजयी सुरुवात गरेको हो । बागमतीका लागि अमर मिश्र र विजय प्रजापतीले समान १३ रन बनाउन बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ टिम बागमतीका कप्तान तथा स्टार स्पिनर सन्दीप लामिछाने ४ विकेट लिए । ४ ओभरमा १६ रन दिएर सन्दीपले ४ विकेट लिएका हुन् । त्यस्तै सुवास खत्रीले ३ विकेट लिँदा प्रतिश जिसीले २ विकेट लिए ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रीकेट मैदानमा बिहिवारबाट सुरु भएको प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता हुनेछ ।

प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot