Logo

राजा फर्काउने दुर्गा प्रसाईंको आन्दोलनमा मिसिए कमल थापा



काठमाडौं,८ मंसिर । राष्ट्र, राष्ट्रियता र नागरिक बचाउ महाअभियान नाम दिएर राजतन्त्र फर्काउने आन्दोलनमा लागेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आन्दोलनमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि साथ दिएका छन् ।

उनले राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा देखिएको जनलहरको उच्च सम्मान समेत गर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै थापाले जनताको आवाज र भावनाको सम्मान गर्दै सर्वपक्षीय सहमतिको आधारमा राजासहितको प्रजातन्त्र तथा सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र स्थापना गर्ने पहलकदमी सुरु गर्न सरकार र प्रमुख राजनीतिक दलहरूको ध्यानाकर्षण समेत गराएका छन् ।

काठमाडौंमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रशासनिक दमनको परिणामस्वरूप केही प्रदर्शनकारी घाइते भएको सुन्दा दुस्ख लागेको भन्दै थापाले घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना समेत गरेका छन् ।

साथै,आगामी दिनमा सर्वसाधारण जनतालाई कठिनाई नहुने र विद्यार्थीको पढाइलाई असर नपर्ने गरी शान्तिपूर्ण ढंगबाट प्रदर्शन संचालन गर्न आयोजकहरूमा थापाले अनुरोध गरेका छन् । राजसंस्था र हिन्दू राष्ट्र चाहनेहरू हिंसा र तोडफोडमा विश्वास गर्दैनन् भन्ने सन्देश दिनुपर्नेमा थापाको जोड छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot