काठमाडौं, १२ मंसिर । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले चन्द्रबिनायक तथा भैरवनाथ जात्रा सञ्चालन हुने ठाउँहरुको अवलोकन भ्रमण गरेका छन् । जात्राको पहिलो दिन उनले चारुमती बिहार, गणेशस्थान, कुटुबहाललगायत क्षेत्रका बारेमा जानकारी लिएका हुन् । त्यस क्रममा वडा ७ का अध्यक्ष बिमल होडा, वडा नं. ८ का अध्यक्ष एवं सम्पदा समितिका संयोजक आशामान संगतले जात्रासँग सम्बन्धित ठाउँ, संस्कार, संस्कृति र सामाजिक जीवनका बारेमा जानकारी गराएका थिए ।
जात्राको पहिलो दिन गुठीयार पूर्ण संगतको घरबाट भैरवको र सानुकाजी शाक्यको घरबाट गणेशको मूर्ति गणेशस्थान परिसरमा ल्याइयो । त्यसपछि गणेश मन्दिर अगाडि आगो बालेर धुनी जगाइयो । यसका लागि पशुपतिको अमालकोट कचहरीले दाउरा, मुढा उपलब्ध गराउने परम्परा छ । यसरी जगाइएको धुनी तापे चिसो नलाग्ने, चिसो लागिसकेको भए यसको असर हराउने, घुँडा दुख्ने, सरीर दुख्ने समस्या समाधान हुने जनविश्वाश छ ।
जात्रासँग सम्बन्धित ठाउँ काठमाडौं उपत्यकाका चार विनायकमध्येको एक हो । महानगरपालिका वडा नं. ७ गणेशस्थानमा रहेको मन्दिरभित्र चिवहा अर्थात् स्तुप पनि छ । धार्मिक तथा जातीय रुपमा व्यक्ति व्यक्तिबिचमा सम्बन्ध टाढिँदै गइरहेको बर्तमान सन्दर्भमा धार्मिक सहअस्तित्वको सन्देश दिने यो संरचना पाँचो शताव्दीदेखि १८ औं शताव्दीबिचमा निर्माण भएको देखिन्छ ।
मन्दिरभित्रको चिवहा अर्थात् स्तुप, बुद्ध मूर्ति र कुमारी लिच्छवीकालीन संरचना हुन् । पाँचो शताव्दीमा निर्माण भएका यी संरचनापछि चन्द्रविनायकको मूर्ति नवौ शताव्दीमा निर्माण भएको देखिन्छ । यी मूर्तिहरुको संरक्षणकालागि अठारौँ शताव्दीमा आएर मल्लकालीन राजा अमर मल्लले वि. सं. १५८६ देखि १६१९ का बिचमा मन्दिर निर्माण गर्न लगाएको देखिन्छ ।
बौद्ध धर्माबलम्बी र हिन्दू धर्मावलम्बीहरुको साझा आस्थाको तीर्थ चन्द्रविनायकभित्र भएका मूर्तिहरु जे भए पनि यसलाई गणेश स्थान भनेर जनसाधारणले चिन्ने गरेका छन् । यसलाईं चन्द्र विनायक, श्वेत विनायक, रक्त विनायक, चावहिल गणेश विभिन्न नामले चिनिन्छ । नेपाल भाषीहरु यसलाई ल्होंसाः गणेद्यः भनेर चिन्दछन् । यो गणेश चावहिल क्षेत्रको चारुमती महाविहार तथा भन्दो चैत्य नजिक रहेको छ । यी सबै स्थान पाशुपत क्षेत्रमा समेटिन्छन् ।
मन्दिर परिसरमा नाग आसनमा बसेका चन्द्रविनायकका अतिरिक्त, नेपाली धार्मिक आस्था तथा विश्वाश बोकेका धेरै देवी देवताका मूर्तिहरु छन् । एकै ठाउँमा क्षेत्रपाल, दक्षिणकाली, पञ्चबुद्ध, सरस्वती, नारायण, कुमारी, भैरव, शिव, राधाकृष्णलगायतका देवी देवताका प्रस्तर मूर्ति भएकाकारण श्रद्धालुहरुले एउटै पूजा तथा दर्शनबाट अधिक पुण्य लाभ गरेको महसुस गर्ने गरेका छन् ।
यहाँका गणेशलाई समय अनुसार पहिरन लगाइ दिने चलन छ । अन्य सामान्य दिनमा प्रस्तर रुपमा हुने गणेशलाई मंगलबार पित्तलको कलेबर र शनिबार चाँदीको मुखौटा लगाइ दिने चलन छ । जात्राको बेला तामाको कलेवर लगाइ दिइन्छ भने क्षमा पूजाको बेला अलग्गै पित्तलको कलेबर लगाइ दिने चलन छ ।
कार्यसिद्धिकालागि पुकार वा आराधना गरिने गणेश मन्दिरमा मंगलबार श्रद्धालुहरुको भीड हुने गरेको छ भने, माघ महिनाको मंगलबार भने विशेष आस्थासहित श्रद्धालुहरु आउने गर्छन् । News & Photo Source: MetroNews