Logo

खर्च कटौतीको प्रस्ताव पेश गर्दै एमालेले भन्यो- मुख्यमन्त्रीले हाम्रो चित्त नबुझाए सरकार जोगाउन सकिँदैन



काठमाडौं,१३ मंसिर । कोशी प्रदेश सभाको बैठक जारी छ । दिउँसो १ बजेका लागि आह्वान भएको बैठक २ घण्टा ढिलागरी प्रदेश सभा भवन विराटनगरमा भर्खरै सुरु भएको हो ।

आजको बैठकमा मुख्यमन्त्री केदार कार्कीले पेश गरेको बजेट प्रतिस्थापन सम्बन्धी विधेयकलाई निर्णायर्थ पेश गर्ने कार्यसूची रहेको छ । प्रदेश सभामा शनिबार मुख्यमन्त्री कार्कीले पेश गरेको बजेटमा नेकपा एमालेका ६ जना र राप्रपा २ जना गरेर ८ सांसदले खर्च कटौतीको प्रस्ताव दर्ता गरेका छन् । अहिले ८ सांसदले दर्ता गरेको खर्च कटौतीको प्रस्ताव क्रमश प्रदेश सभामा पेश भईरहेको छ ।

खर्च कटौतीको प्रस्ताव पेश गर्दै नेकपा एमालेका सांसद तथा प्रदेश सभा संसदीय दलका मुख्य सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री केदार कार्कीकै कारण आफूहरुले खर्च कटौतीको प्रस्ताव दर्ता गर्नुपरेको दाबी गरे ।

प्रमुख सचेतक भण्डारीले मुख्यमन्त्री कार्कीले आफूहरुका माग पूरा गर्ने प्रतिवद्धता जनाए, सत्तारुढ र प्रतिपक्षी दुबैलाई सँगै लिएर हिड्ने प्रतिवद्धता जनाएमा आफुहरु खर्च कटौतीको प्रस्तावबाट पछि हट्ने अन्यथा सरकार ढलेमा एमाले जिम्मेवार नहुनेसमेत जानकारी गराएका छन् ।

‘स्वभाविक ढंगले प्रतिपक्षले संसदीय प्रक्रिया, परम्परा र अभ्यासमा खर्च कटौतीको प्रस्ताव राख्नैपर्छ । यद्यपि यस्को प्रक्रिया बाँकी छ ’भण्डारीले भने ‘खर्च कटौतीको प्रस्तावमा छलफल सकिसकेपछि माननीय मुख्यमन्त्री र अर्थमन्त्रीले त्यसको जवाफ दिनुहुन्छ । त्यो जवाफमा हामीले खच कटौतीको कारणबारेमा राखेका जिज्ञासाको बारेमा हामीले भनेपछि मुख्यमन्त्रीले चित्तबुझ्दो जवाफ दिनुभयो, दलका नेताहरुलाई खर्च कटौतीका प्रस्तावकहरुलाई मनाउन सक्नु भयो भने उपयुक्त कमिटमेन्ट गर्नुभयो भने यो प्रस्ताव प्रकिया बमोजिम निर्णाथ पेश भएर पास हुने वा फेल हुने प्रक्रियामा पनि जान सक्छ । वा चित्तबुझ्दो जवाफ दिनु भएन भने बजेट नै फेल हुन पनि सक्छ’ ।

उनले दलका नेता र सांसदहरुलाई मनाउन नसकेमा सरकार ढल्ने बताएका छन् । सामान्यतया बजेट पारित नभएमा सरकारलाई नैतिकरुपमा काम गर्न गाह्रो हुने गर्दछ । हाल मुख्यमन्त्री कार्कीलाई समर्थन गरेर विश्वासको मत दिएपनि नेकपा एमाले सरकारमा सामेल भएको छैन् । उसले सरकारका कामका आधारमा समर्थन वा विरोध गर्ने बताउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot