Logo

संघीय र प्रदेश सभा निर्वाचनमा समानुपातिकको बन्द सूचीमा रहेका व्यक्तिलाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बन्न रोक



काठमाडौं,१७ मंसिर । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गत वर्ष सम्पन्न संघीय र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकको बन्द सूचीमा व्यक्तिहरुलाई उम्मेदवार बन्न रोक लगाएको छ ।

आयोगले आज एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० मा भएको व्यवस्था अनुसार सोही दफाहरुको उपदफा (१) को प्रतिवन्धात्मक वाक्यांश बमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन नपाउने व्यहोरा रहेको कारण उम्मेदवार बन्न रोक लगाईएको आयोगका सह प्रवक्ता एवं उपसचिव सूर्य प्रसाद अर्यालले जानकारी दिए ।

यस्तै आयोगले निर्वाचनको कार्यतालिकासमेत सार्वजनिक गरेको छ । जस अनुसार पुस २३ गते उम्मेदवारको मनोनयन दर्ताका लागि समय तोकेको छ। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मनोनय दर्ता हुने आयोगले जनाएको छ।

मनोनय दर्ता पश्चात उम्मेदवारको विरोधमा उजुरी दिने कार्य पुष २४ गते हुने बताइएको छ।

मनोनयन पत्र र उजूरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुष २६ गते प्रकाशन हुनेछ। सोही दिन दिउँसो २ बजे अन्तिम नामावली प्रकाशन गर्ने काम हुने आयोगले जनाएको छ।

पुस २८ गते १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन चिन्ह उपलब्ध गराउने आयोगले जनाएको छ।

माघ ११ गते बिहान ९ देखि ३ बजेसम्म मतदान हुने आयोगका सहप्रवक्ता सूर्य प्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आगामी फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि सकिँदैछ । कानूनत: पदावधि सकिनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot