Logo

अलैँचीको मूल्य बढेपछि ताप्लेजुङका किसान उत्साहित



ताप्लेजुङ, २७ मङ्सिर । पहाडी क्षेत्रको मुख्य नगदेबालीका रुपमा लिइने अलैँचीको मूल्य बढेसँगै किसान हर्षित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष अलैँचीको मूल्य बढेको छ ।

ताप्लेजुङमा अहिले प्रति मन (४० किलो) ६९ हजारमा कारोबार भइरहेको अलैँची व्यवसायी बालमणि बरालले जानकारी दिए । उनका अनुसार यस वर्षको सबैभन्दा बढी गत सोमबार ७१ हजारका दरले कारोबार भएको थियो ।

शुक्रबारदेखि अलैँचीको मूल्यमा उतारचढाव आइरहेको बरालको भनाइ थियो । मूल्यमा वृद्धि भएसँगै अलैँची किसान खुसी भएका छन् । पछिल्ला केही वर्ष न्यून मूल्यमा कारोबार गर्दै आएका किसानले यस वर्ष तुलनात्मक रुपमा केही बढी मूल्य पाएपछि खुसी भएका हुन् ।

“यस वर्ष उत्पादन केही घटे पनि मूल्य भने बढ्नले किसानलाई राहत पुगेको छ”, अलैँची किसान गणेश सिग्देलले भने, “अलैँचीको मूल्यमा सधैँ एकरुपता हुनुपर्ने हो । ठूलो परिमाणमा मूल्य घटबढ भइरहँदा किसान अलमलमा पर्ने गरेका छन् ।”

गत आर्थिक वर्षको अन्तिम समयमा प्रति मन ६० हजारका दरले कारोबार भएको थियो । यस वर्ष सिजनको सुरुवाती समयमा झण्डै त्यही हाराहारीमा कारोबार भएको थियो । बर्खामा अत्यधिक पानी र हिउँदमा लामो समय खडेरी पर्नुका साथै रोगकीराका कारण अलैँची उत्पादन घटेको किसान रश्मी आचार्यले बताए । उनका अनुसार यहाँ उत्पादित अलैँची झापाको विर्तामोड हुँदै भारतीय बजारमा निर्यात हुने गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्