Logo

पुराना ५ वटा चिनियाँ जहाज लिलाममा



काठमाडौं, पुस ५ । नेपाल वायुसेवा निगमले पुराना ५ वटा जहाज लिलामीको सूचना जारी गरेको छ । निगमले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको हो ।

ग्राउण्डेड बेच्न गोप्य सिलबन्दी टेन्डर आह्वान भएको छ । निवेदन दिने म्याद ४ फेब्रुअरी अर्थात् आगामी २१ माघसम्म छ । यी चिनियाँ जहाजहरू तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन् ।

चीनबाट अनुदान र सफ्ट लोनमा गरी छ अर्ब ६७ करोड १० लाख रुपैयाँ नेपाल ल्याईएका छ वटा चिनियाँ जहाजमध्ये एउटा एमआई ६० र एउटा वाई १२ हवाई जहाज चीन सरकारले अनुदानमा दिएको थियो भने चारवटा जीटुजी–मोडेल (सरकारद्वारा सरकारसँग खरिद प्रणालीअन्तर्गत) चीनको एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा नेपाल सरकारले खरिद गरेको थियो।

ती मध्ये एक वाई १२ जहाज नेपालगञ्जमा दुर्घटनामा परेको थियो। पाइलट अभाव, मर्मतसम्भार र पार्टपुर्जा अभाव, बढी इन्धन खपत र नाफा दिन नसकेको भन्दै निगमले विमान हटाउन लागेको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot