Logo

भैरहवा पुगेर पूर्वराजा ज्ञानेन्द्रले भने, ‘म कतै गएको छैन, सदा–सदा नेपालीको साथमा छु’



काठमाडौं, १९ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भैरहवामा नागरिक अभिनन्दन गरिएको छ । त्यहाँको स्थानीय नागरिक अभिनन्दन समितिले पूर्वराजा शाहलाई नागरिक अभिनन्दन गरेको हो । अभिनन्दन कार्यक्रममा पूर्वराजा शाह पूर्वरानी कोमलसहित सहभागी भएका थिए ।

नागरिक अभिनन्दनपछि सभालाई सम्बोधन गर्दै पूर्वराजा शाहले आफू जता गएपछि ‘राजा आउ, देश बचाउ’ भन्ने आवाज सुनिरहेको बताए । उनले आफूले देश बनोस् र बचोस् भन्ने भावनाले सोचिरहेको बताए । साथै, उनले आफू नेपालीको साथमै रहेको बताए । उनले नेपालीको दुःख, सुखमा सँगै रहेर वर्तमान अवस्था नियालिरहेको बताए ।

‘म कतै अन्त गएको छैन । सदा–सदा नेपालीका साथमा छु । नेपाल भित्रै छु । नेपालीहरुको सुख, दुःख, सुविधा, असुविधा, बाधा, पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालिरहेकोछु,’– उनले भने ।

साथै, देश जर्जर अवस्थामा रहेको भन्दै उनले दुःख व्यक्त गरे । बेराजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौं यु्वा जनशक्ति विदेशिनु परेकोमा उनले दुःख व्यक्त गरे । देशको माया हुँदाहुँदै पनि अवस्था बिग्रिएर, असन्तोष, आक्रोश र विवश भएर युवा जमात विदेशिनु परेको उनको ठम्याइ छ ।

हामीमात्र ठीक अरु बेठीक, हाम्रो बाटोमात्रै सुबाटो, अरुको कुबाटो भन्ने द्धन्द, विग्रह, विवादबाट उठ्न आवस्यक रहेको उनले बताए । विवादबाट उठेर हामी नेपालको माटो र नेपाली बाटो समात्नसमेत उनले सबैलाई अपील गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot