Logo

त्रिवि केन्द्रीय पुस्तकालय भवन उद्घाटन गर्न किर्तिपुर पुगे भारतीय विदेशमन्त्री जयशङ्कर



काठमाडौं, २० पुस । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयको नव निर्मित भवनको आज उद्घाटन हुँदैछ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशङ्करले त्रिवि परिसरमा हुने एक कार्यक्रमका बीच अहिले केहिबेरमा नयाँ भवनको शुभारम्भ गर्दैछन् ।

भारतीय सहयोगमा निर्मित तीन तले पुस्तकालय भवनमा दुई हजार विद्यार्थीले अध्ययन गर्न सक्ने छन् । त्रिवि केन्द्रीय पुस्तकालयका कार्यकारी निर्देशक सागरराज सुवेदीका अनुसार तीन तल्ला नयाँ भवन अपाङ्गमैत्री तथा लिफ्टलगायतका सुविधासमेत छन् ।

नयाँ भवन पाएसँगै पुस्तकालयमा किताब जारी गर्न र फिर्ता भएको पुस्तकको अभिलेख राख्ने विशेष प्रणाली आरएफ आइडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टीफिकेसन सिस्टम) समेत जडान हुनेछ । पुस्तकालय कूल सात हजार आठ सय वर्गफिट फराकिलो रहेको जानकारी पनि उनले दिए।

विसं २०७७ मा पुस्तकालय भवन निर्माण सुरुआत भएको थियो । पुस्तकालयमा भारतीय पुस्तकको छुट्टै कोठासमेत रहने छ । यसबाहेक पुस्तकालयमा ५० वटाभन्दा बढी सङ्ख्यामा कम्प्युटरसमेत अध्ययनकर्तालाई उपयोग गर्न दिइने जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्