Logo

माओवादी महासचिवलाई धमलाको प्रश्नः भूकम्प प्रभावितहरुको राहत कति हिनामिना गर्नुभयो ?



काठमाडौं, ७ माघ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले भूकम्प प्रभावितका लागि चीन सरकारले सहयोग गरेको राहत सामग्री हिनामिनामा आफ्नो संलग्नता रहेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूले राहत हिनामिना गरेको भन्ने कुरा हाँस्यास्पद रहेको बताए ।

चिनियाँ सरकारले चिनियाँ कम्युनिष्ठ पार्टीको तर्फबाट भूकम्प प्रभावित क्षेत्रमा नेपाली कांग्रेस, एमाले, एकीकृत समाजवादी र माओवादी चारवटा पार्टीको नाममा करिब दुई करोड ७४ लाखको राहत पठाउँछौं भनेर दूतावासले चारवटै दलका नेताहरुलाई बोलाएर भनेको र सोहीअनुसार पार्टीहरुको समन्वयनमा चिनियाँ ग्रामिण विकास फाउन्डेसन भन्ने संस्था र नेपालको ग्लोबल नेटवर्किङ डेभलपमेन्ट भन्ने संस्थाको सहकार्यमा राहत वितरण भएको उनले बताए ।

‘त्यो सामननै त्यो संस्थाले वितरण गरेको हो । दुई संस्थाबीचमा आपसी समझदारी गरेर उनीहरुले वडा वडामा पुर्याए । चार वटा पार्टीले वडा तोक्दिएको मात्रै थियो ।’ उनले भने, ‘ती संस्थाहरुले वडा वडामा गएर वडाध्यक्षलाई जिम्मा लगाएका पनि छन् । भरपाई गरेर जिम्मा लगाएका छन् । त्यहाँ पार्टीहरुको जिम्मामै छैन कसरी पार्टीले हिनामिना गर्छ ?’

माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोर्खबहादुर केसीले महासचिव गुरुङले राहत हिनामिना गरेको आरोप लगाएका थिए । महासचिव गुरुङले शक्तिको प्रयोग गरी आफन्तको संस्थामार्फत राहत सामग्री वितरण गरेको र व्यापक अनियमितता भएको भन्दै केसीले यस विषयमा पार्टी र राज्यले छानविन गर्नुपर्ने आवाज उठाएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot