Logo

उपाधि दाबेदार एपीएफको लगातार तेस्रो हार, तेस्रो जितसँगै आर्मी चौथो स्थानमा उक्लियो



काठमाडौं,९ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा उपाधि दाबेदार मानिएको विभागीय टिम एपीएफले तेस्रो हार भोगेको छ । आज भएको खेलमा एपीएफ अर्को विभागीय टिम नेपाल आर्मीसँग ४ विकेटले पराजित भएको हो ।

रुपन्देहीको सिद्धार्थनगरस्थिति मैदानमा एपीएफले दिएको १२२ रनको सामान्य लक्ष्य आर्मीले २३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । आर्मीका लागि कप्तान विनोद भण्डारीले नटआउट रहँदै ३४ रन जोडे । कुशल मल्लले १९, वसिर अहमदले १८, इमरान शेखले १६ र सन्तोष कार्कीले ११ रन थपे ।

बलिङतर्फ एपीएफका रमेश कुर्मीले २ तथा रोहित पौडेल र मौसम ढकालले समान १ विकेट लिए ।

यसअघि भैरहवास्थित सिद्धार्थनगर रंगशालामा टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको एपिएफले ३२।४ ओभरमा अलआउट हुँदै १ सय २१ रन जोड्यो । खराब मौसमका कारण ३६ ओभरमा घटाइएको खेलमा एपिएफले सुरुवाती दुवै ओभरको पहिलो बलमा क्रमश ओपनर प्रज्वल शाही र पुरन विक ९३० लाई गुमाएको थियो ।

दोस्रो ओभरमा ब्याटिङका लागि आएका रोहित ३३ औं ओभरमा नवौं विकेटको रुपमा पेभेलियन फर्केका थिए । उनले १ सय ३ बलको सामना गर्दै ५९ रन जोडे । स्पिनर बसिर अहमदको बलमा ठूलो सट खेल्ने धुनमा क्याच आउट हुनुअघि उनले २ चौका र २ छक्का प्रहार गरे ।

एकतर्फ लगातार विकेट झर्दा रोहितले अर्को एण्डबाट विकेट जोगाएर रन बटुलेका थिए । एपिएफका लागि सुमित महर्जनले १४ र भुवन कार्कीले १६ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आर्मीका लागि सोमपाल कामीले ३ विकेट लिँदा अभिनाश कर्णले २ विकेट लिएका थिए ।

आर्मीले यससँगै ५ खेलमा ३ जित र २ हारका साथ ६ अंक जोडेको छ । यता एपिएफ भने ५ खेलमा २ जित र ३ हारका साथ सातौं स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot