Logo

कांग्रेसबाट पटक-पटक धोका भयो, आगामी दिनमा चुनावी सहकार्य हुँदैनः माओवादी नेता नेम्वाङ



काठमाडौं, १२ माघ । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश कमिटीले आफूहरुमाथि नेपाली कांग्रेसको एउटा गुटबाट निरन्तर धोका भएको निश्कर्ष निकालेको छ । हिजो (बिहीबार) सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन दलकी साझा उम्मेदवार रहेकी माओवादी केन्द्रकी नेतृ चम्पा कार्कीले हार व्यहोरेपछि कोशीमा कांग्रेस–माओवादीबीच अविश्वासको वातावरण सिर्जना भएको हो । कोशीमा कांग्रेसका तीन जना प्रदेश सभा सदस्य र १७ जना स्थानीय तहका जनप्रतिनिधिले फ्लोर क्रश गरेपछि नेकपा (एमाले) की उम्मेदवार रुक्मिणी कोइराला निर्वाचित भएकी थिईन् । यसैबीच, नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङले अब कांग्रेससँग विश्वासको वातावरण शून्य भएको बताएका छन् । प्रस्तुत छ राष्ट्रिय सभा निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमलाई लिएर रिपोर्टर्सकर्मी मोहन बुढाक्षेत्रीले माओवादी कोशी प्रदेश अध्यक्ष नेम्वाङसँग गरेको संवादको सम्पादित अंशः

कोशी प्रदेशमा सत्तारुढ गठबन्धन दलबाटै साझा उम्मेदवारलाई हराउने काम भयो । यसलाई तपाईहरुले कसरी लिनु भएको छ ?

विगतमा पनि हामीले पटक–पटक यस्ता अन्तर्घातहरु व्यहोर्दै आएका हौं । अहिले पनि त्यसकै निरन्तरता भएको हामीले निश्कर्ष निकालेका छौं । त्यही घटनाक्रमको यो निरन्तरता हो भन्ने हाम्रो बुझाइ हो ।

कांग्रेसका जनप्रतिनिधिबाट घात हुनसक्छ भन्ने माओवादीले पूर्वानुमान गरेको थियो ?

अनुमानहरु पनि अलि–अलि त थियो । शंकाहरु पनि थिए । बाहिरबाट विपक्षीहरुले पनि हामीलाई सूचना गरिराखेकै थिए ।

अब कसरी अगाडि बढ्नु हुन्छ ? कांग्रेससँगको सत्ता सहकार्य टुट्ने हो ?

टुट्नेनै भन्ने निश्कर्ष त निकालिसकेका छैनौं । यही ढंगले जाने हो भने अबको सहयात्रा, सहकार्य र गठबन्धन मुस्किल ठाउँमा आइपुगेको छ । एकदमै टर्निङ पोइन्टमा आइपुगेको छ । यही स्थिति कायम रह्यो भने त कांग्रेससँग सहकार्य गर्न सकिने ठाउँ रहन्छजस्तो लाग्दैन । यो विषयमा गम्भीर समीक्षा गर्ने ठाउँमा चाहीँ आइपुगेको जस्तो लाग्छ ।

कांग्रेससँगको सहकार्य टुटाउन कोशी माओवादीले प्रचण्डसँग विद्रोह गर्नसक्छ ?

यो गठबन्धन बनाएको केन्द्रले नै हो । यो गठबन्धनलाई निरन्तरता दिने या टुटाउने भन्ने मुख्य दायित्व र जिम्मेवारी त केन्द्रकै हुन्छ । तै पनि हाम्रा (प्रदेश) का पनि केही क्षेत्राधिकारहरु छन् । पार्टीको कार्यकारी तह भइसकेपछि आफ्ना सल्लाह सुझावहरु र आफ्ना विमतीहरु राख्नसक्छ । यहाँका सन्दर्भमा अहिले हामीले तत्कालै केही निर्णय लिएर अगाडि बढ्ने भन्दा पनि हाम्रो कुरा केन्द्रलाई राख्छौं । केन्द्रले यसको निर्णय गर्ला । यसको बारेमा केन्द्रको कुरा मान्ने त छदैछ । हामीले पनि आफ्नो निर्णय गर्ने हामीसँग अधिकार पनि छ । केन्द्रको सरकारलाई असहजनै गर्ने गरी निर्णय त हामी गरिहाल्दैनौं । यसबारेमा केन्द्रीय नेतृत्वसँग हामी छलफल चाहीँ गर्छौं ।

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस नेता शेखर कोइरालाको भूमिकालाई कोशी माओवादीले कसरी व्याख्या गर्छ ?

एउटा व्यक्तिमाथि प्रश्न भन्ने रहँदैन । उहाँको पनि आफ्नो ठाउँमा सकारात्मक योगदाननै रह्योहोला भन्ने हामीले अनुमान गर्ने हो । तर घटनाक्रमहरुले के देखाउँछ भन्दाखेरी विगतदेखि नेपाली कांग्रेसभित्रका एउटा समूहले, एउटा गुटले यो गठबन्धनको निरन्तरता चाहेको छैन । यो गठबन्धनलाई कुनै पनि मानेमा अलग गराउन चाहन्छ । त्यसपछि पनि यो सरकार बनेपछि त निरन्तर उहाँहरुले यो सत्ता सहकार्यमाथि निरन्तर प्रहार गरिराख्नु भएको छ । आजै सरकार ढाल्न सक्छौं, भोलि सरकार ढाल्न सक्छौं । प्रधानमन्त्री प्रचण्डलाई खुमलटार पठाइदिन्छौं भन्ने खालका अभिव्यक्तिहरु निरन्तर आइराखेकै थियो । अहिले पनि त्यो जारीनै छ । त्यही समूहको राजनीतिक बदमासीले गर्दा हाम्रो प्रदेशमा यस्ता घटना निरन्तर भइरहेको अनुमान सहजै लगाउन सकिन्छ । यसको बारेमा आवश्यक समीक्षा गर्छौं ।

माओवादीकी उम्मेदवारलाई मुख्यमन्त्री केदार कार्कीले समेत भोट हाल्नुभएन भन्ने समाचारहरु बाहिर आइरहेका छन् । तपाईहरुको आँकलन पनि त्यही हो ?

यो कांग्रेसभित्रको समग्र प्रवृति, राजनीतिक बुझाइ र दृष्टिकोणको सवालसँग सम्बन्धित रहन्छ । एउटा व्यक्तिमाथि हामीले किटान गरेनौं ।

कोशीमा कांग्रेसबाट पटक–पटक धोका खाएको माओवादी फेरि किन कांग्रेससँगनै सहकार्य दोहोर्याउन चाहन्छ ? अब सहकार्यका लागि विश्वासको आधार के ?

विश्वासको वातावरण त समाप्त भइसकेको छ हाम्रो प्रदेशमा । अहिलेसम्मको घटनाक्रमले त्यहीनै पुष्टि गर्छ । उहाँहरुको सहकार्यको विश्वसनीयता, उहाँहरुसँग सहकार्य गरेर अब अगाडि बढ्ने कुनै ठाउँनै देख्दिन म । एउटामात्रै होईन, उहाँहरुले थुप्रै पटक गठबन्धनप्रति उदासिनता र धोका रहिसकेपछि उहाँहरुप्रति गरिने विश्वास शून्यनै भएको छ । अहिलेसम्मको घटना क्रमले आगामी दिनमा कांग्रेससँग सहकार्य गर्न सकिँदैन भन्ने कुरा चाहीँ पुष्टि गरेको छ । अरु ठाउँमा के हो थाहा छैन । हाम्रो प्रदेशसँगमा चाहीँ अहिलेसम्मको शिक्षा के हो भन्दाखेरी अब कांग्रेससँग सहकार्य गर्न सकिँदैन, सँगै गठबन्धन गरेर हिँड्न सकिँदैन । हामीले यहाँबाट केन्द्रको नेतृत्वलाई त्यही सल्लाह सुझाव दिने हो । सम्भवतः कांग्रेससँग आगामी चुनावी प्रक्रियाका सहकार्य हुनसक्दैन । अरु विषयमा सहकार्य होला, आगामी दिनको चुनावी प्रक्रियामा सहकार्य सम्भवनै छैन । विभिन्न समयमा निरन्तर धोका भएपछि सहकार्य गर्ने कसरी ?



प्रतिक्रिया दिनुहोस्