Logo

राजसंस्था फाल्न निर्णायक भूमिका खेलेका प्रचण्ड प्रधानमन्त्री हुँदा पूर्वराजाले बढाए सक्रियता



  • दरबार हत्याकाण्डबारे पूर्वराजाले मुख खोले, प्रचण्ड डराएर बोले

काठमाडौं,१४ माघ । पूर्व राजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको २२ वर्षपछि पहिलो पटक मुख खोलेका छन् । शनिबार पर्साको वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले नरसंहारकारी दरबार हत्याकाण्डको २२ वर्षपछि मुख खोल्दै आफू र आफ्नो परिवारलाई उक्त विषयमा जोडेर घातक प्रहार गरिएको बताए ।

आत्मीय अग्रजहरूलाई गुमाएको पीडादायक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर आफूले पुग–नपुग सात वर्ष राष्ट्रप्रमुखको दायित्व निर्वाह गरेको स्मरण गराउँदै उनले देशको थप बर्बादी नहोस् भनेर प्रजातन्त्रको मान्यता राखेर तत्कालीन समयमा जिम्मेवारी सम्हालेको बताए ।

‘जेठ,१९,२०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको थियो,’ उनले भनेका छन्, ‘हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए । सत्य सधैँ सत्य हुन्छ । असत्यको विजयी कहिले हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शीहरू हुँदा हुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौँ । यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो ।’

बेथितिबाट आमजनतामा आक्रोश उत्पन्न हुन्छ भन्ने आफूले त्यतिखेर नै आकलन गरेको जिकिर गर्दै उनले १५ वर्षपछि त्यो असन्तोष, चासो, चिन्ता, आक्रोश सर्वत्र छताछुल्ल भएको बताए । २०५८ सालको जेठ १९ गते तत्कालीन राजा विरेन्द्र, रानी तथा उनको सपरिवारसहत १० जनाको विभत्स हत्या भएको थियो । उक्त घटनाताका पोखरामा रहेका तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह त्यसपछि काठमाडौं फकिएर देशको राजा बनेका थिए ।

राजा विरेन्द्रको बंश नाशपछि नेपालको राजाका रुपमा ज्ञानेन्द्रको शासनकाल प्रारम्भ भएपनि उनको शासन लामो समय टिक्न सकेन । जनआन्दोलन २०६२/६३ को सफलतासंगै ज्ञानेन्द्रको शासन पतन भयो र नेपालबाट राजसंस्थाकै अन्त्य हुन पुग्यो । राजतन्त्र हटाएर देशमा गणतन्त्रको स्थापना भएको थियो ।

राजा विरेन्द्रको हत्यालाई अझैपनि शंकाको दृष्टिकोणबाट हेरिँदै आएको छ । तत्कालीन समयमा गठित छानबिन समितिले युवराज दिपेन्द्रले हत्या गरेको निश्कर्ष निकालेको थियो । छानविन समितिको उक्त प्रतिवेदन आम नेपाली जनता पत्याउन तयार भएनन् । अन्ततः शंकाको सुई पूर्व राजा ज्ञानेन्द्रतर्फ सोझिएको थियो । ज्ञानेन्द्रले नै दाजुको वंश विनास गरेर राजपाठ हातमा लिएको आरोप र चर्चा हुँदै आएको थियो र छ पनि । तर, घटनाको २२ वर्षसम्म मौन रहेका ज्ञानेन्द्रले पहिलो पटक सार्वजनिक कार्यक्रममा घटनाबारे मुख खोलेपछि एकपटक फेरि राजदरबार हत्याकाण्डको विषयले चर्चा पाएको छ ।

एकाथरीले दरबार हत्याकाण्डमा पूर्व राजा ज्ञानेन्द्रको हात रहेको आरोप र आशंका गरिरहँदा अर्काथरीले भने तत्कालीन समयमा जनयुद्ध सञ्चालन गरिरहेको विद्रोही समूह माओवादीको हात रहेको दाबी पनि गरेका थिए । माओवादीले पश्चिममा देशसँग मिलेर राजदरबार हत्याकाण्ड घटाएको दाबी गर्नेहरु पनि नभएका होइनन् । तर, यी कुनैपनि आरोप र आशंकाको स्वतन्त्र पुष्टि हुन सकेको छैन् ।

पूर्वराजा ज्ञानेन्द्रले दरबार हत्याकाण्डबारे २२ वर्षपछि मुख खोल्न सुरु गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने जनयुद्धका उपलब्धी गुम्ने खतरामा बढेको बताउन थालेका छ । जनताको संघर्षबाट प्राप्त उपलब्धी र परिवर्तनको रक्षाको निम्ति छरिएर रहेका माओवादी घटकहरु एकताबद्ध हुनुपर्ने प्रचण्डको ठम्याईँ छ । माओवादी घटकहरुको छिन्नभिन्नताले १० वर्ष लामो युद्धको महत्वपूर्ण उपलब्धि गुम्ने खतरा बढेको भन्दै उनले चासो र चिन्ता व्यक्त गरे ।

शनिबार राजधानीका आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पूर्वमाओवादी घटकहरुलाई एकताबद्ध हुन आह्वान गर्दै भने, ‘म आज सहिद प्रतिष्ठानको यो १४औं साधारण सभामा र यो सभामार्फत देशभरीका सहिद परिवार, बेपत्ता योद्धा परिवार क्रान्तिकारी कमरेडहरु सबैलाई, सबै पक्षमा भएका साथीहरुलाई पनि म अपिल गर्न चाहन्छु– समय आयो, अब हामी एकताबद्ध भएर गएनौं भने ठूलो दुर्घटना पनि हुनसक्छ । त्यसकारण त्यो दुर्घटना रोक्नका लागि पनि हामीले एकचोटी फेरि आँट गर्नुपर्छ । हामीले एकचोटी फेरि एक ढिक्का भएर त्यसको प्रतिवाद गर्नुपर्छ भनेर म अपिल पनि गर्न चाहन्छु ।’

माओवादीका नेता तथा कार्यकर्ताहरु जनयुद्धको उद्देश्यप्रति उदासिन भएको प्रचण्डको बुझाइ छ । प्रचण्डको यी भनाई सार्वजनिक भएपछि विभिन्न रुपमा टिका टिप्पणी समेत भइरहेका छन् । दरबार हत्याकाण्डबारे पूर्व राजाले मुख खोल्दा माओवादी पार्टी डराएको र त्यसैको प्रतिक्रियास्वरुप प्रचण्डको सो धारणा आएको धेरैको बुझाइ छ । यसबारेमा माओवादी केन्द्रबाट आधिकारिक धारण भने सार्वजनिक भएको छैन् ।

पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्रले सक्रियता बढाएका छन् । राजसंस्था गुमेपछि प्रायः सार्वजनिक कार्यक्रममा कमै देखिने गरेका ज्ञानेन्द्र यो वर्ष भने उल्लेख्य कार्यक्रममा सहभागी भए । ज्ञानेन्द्र सहभागी कार्यक्रममा उनलाई हेर्न र उनको सम्बोधन सुन्न ठूलोमात्रामा नागरिकहरुको उपस्थिति रहने गरेको छ ।

त्यस्तै, १० वर्षे जनयुद्धको नेतृत्व गरेको माओवादी अहिले सरकारमा छ । माओवादी सरकारमा भएपनि संसदीय अंक गणितका कारण उ निर्णायक शक्तिको रुपमा छैन । राजसंस्था फाल्न १० वर्षे जनयुद्ध हुँदै २०६२/६३ को जनआन्दोलनको नेतृत्व गरेको माओवादीले नै सरकारको नेतृत्व गरिरहेको बेला पूर्वराजा ज्ञानेन्द्रले भने सक्रियता बढाइरहेका छन् । पूर्वराजा ज्ञानेन्द्रको सक्रियतालाई नियालिरहेका प्रचण्डले बेला–बेलामा जनयुद्धको उपलब्धी गुम्ने खतरा बढ्दै गएको बताउँदै आएका छन् ।

प्रचण्ड अहिले संसद्को सबैभन्दा ठूला दल नेपाली कांग्रेससहितको समर्थनमा प्रधानमन्त्री छन् । कांग्रेसको एउटा पंति नेपाल हिन्दु राष्ट्र हुनुपर्ने पक्षमा छ । त्यसैगरी, कांग्रेसका केही नेताहरुले संवैधानिक राजसंस्थाको पक्षमा समेत वकालत गर्दै आएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले एक सार्वजनिक कार्यक्रममै हिन्दु राष्ट्रको बारेमा सोच्न सकिनेसमेत बताए ।

यसरी, निरन्तररुपमा माओवादीले निर्वाचनमार्फत जनताबाट विश्वास गुमाउँदै जानु र सत्तारुढ गठबन्धनमा रहेका दलहरुले नै राजा, राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा वकालत गर्नुले पूर्वराजालाई सक्रियता बढाउनमा मलजल पुगेको छ ।

दरबार हत्याकाण्डबारे पूर्वराजा ज्ञानेन्द्रले मुख खोले



प्रतिक्रिया दिनुहोस्

Screenshot