Logo

नेपाली सेना जीवनको आहुती दिन तत्पर अनुशासित सिपाहीहरुको सङ्गठन होः प्रधान सेनापति शर्मा



प्रधान सेनापति महारथी प्रभुराम शर्माले नेपाली सेना नेपालको कानूनले इङ्गित गरेका अधिकार र जिम्मेवारीको परिधिभित्र रहेर स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि जस्तोसुकै परिस्थितिको सामना गर्दै जीवनको आहुती दिन तत्पर अनुशासित सिपाहीहरुको सङ्गठन भएको बताएका छन् । महाशिवरात्री तथा २६१ औँ सेना दिवसको अवसरमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकलदर्जा, सेनामा कार्यरत निजामती कर्मचारी एवं परिवारजनलाई शुभकामना व्यक्त गर्ने क्रममा जङ्गी अड्डामा आयोजित विशेष कार्यक्रममा प्रधान सेनापति शार्माले यस्तो बताएका हुन् ।

उनले “विभिन्न तह र तप्कामा रही उच्च मनोबल र हौसलाका साथ स्वदेश र विदेशमा अनवरत रुपमा खटिई रहेका सकलदर्जालाई” धन्यवाद दिँदै सदैव यस्तै मनोबलका साथ अविचलित रही आफ्नो कर्तव्यपथमा अडिग रहने विश्वास व्यक्त गरे । सामूहिक नेतृत्व र सामूहिक योगदानबाट सञ्चालन हुँदै आएको संस्था नेपाली सेनाका सकलदर्जालाई सदैव व्यक्ति भन्दा संस्थामाथि रहने कुरा स्मरण गराउँदै उनले पदभन्दा प्रतिष्ठा ठुलो हो भन्ने कहिल्यै नविर्सन सुझाव दिए । प्रधान सेनापति शर्माले त्यस अवसरमा “संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्दा, हामीसँग उपलब्ध स्रोतसाधनको समुचित सदुपयोग गरी, बदलिंदो विश्वपरिवेश अनुकूल मापदण्ड हासिल गर्न नेपाली सेनाको नेतृत्वपंक्तिबाट आधुनिकीकरण, व्यावसायिकरण र आत्मनिर्भरताका लागि हरसम्भव प्रयास भइरहेको” जानकारी गराए ।

राष्ट्रिय सुरक्षा, सङ्गठन सञ्चालन, व्यावसायिक तालिम, पेसागत वृत्तिविकास, सबल बन्दोवस्ती प्रणाली र कल्याणकारी कार्य लगायतका विषयहरुमा समयसापेक्ष आधुनिकीकरण र सुधार गर्दै लैजाने प्रयास भइरहेको उनले जानकारी गराए । प्रधान सेनापतिले संस्थागत हित र सैनिक आचरण विपरितका गतिविधिमा संलग्न रहने एवं व्यक्ति भन्दा संस्था सदैव माथि रहने तथ्य बुझ्न नसक्ने वा नचाहनेहरुले यथोचित परिणाम भोग्नुपर्ने यथार्थबारे सेनाका सकलदर्जालाई सजग तुल्याउँदै संस्थाभित्रका अवसरहरु सकेसम्म धेरैले उपभोग गर्ने वातावरण बनाउन निरन्तर प्रयास भैरहेको बताए ।

सेना नेपाली जनताको आशा, भरोसा र विश्वासको जगमा स्थापना भएको र यसको समावेशी चरित्रलाई थप मजबुत बनाउन एवं देशका हरेक कुनामा रहेका युवालाई राष्ट्र रक्षार्थ स्वःस्फूर्त नेपाली सेनामा समावेश भई मातृभूमिको सेवामा लाग्न सहज तुल्याउन देशका दुर्गम र विकट जिल्लाहरूलाई समेट्ने गरी सैन्य भर्ना केन्द्रहरू खोलिएको उनको भनाइ छ । प्रधान सेनापति शर्माले ऐतिहासिक महत्वका सैन्य सम्पदा (गढि तथा किल्लाहरु) को सम्बर्ध्दन र प्रवर्ध्दन गर्ने कार्यलाई भविष्यमा पनि निरन्तरता दिने कुरा बताउँदै राष्ट्रिय गौरव एवं सेनाको प्रतिष्ठासँग जोडिएका काठमाडौँ–तराईरमधेस द्रुतमार्ग सडक आयोजना लगायत दार्चुला–टिंकर, खाँदवारी–किमाथाँका, वेनीघाट–लार्केभञ्ज्याङ्ग र कर्णाली करिडोर सडक आयोजनाहरुमा सन्तोषजनक प्रगति भइरहेको बताए । उनले उक्त विकास निर्माणका कार्यमा संलग्न सबैलाई आर्थिक पारदर्शिता कायम राख्दै समयसीमा भित्रै कार्य सम्पन्न गर्न निर्देशन दिए ।

सेनालाई बन्दोवस्ती सामग्रीहरुको आपूर्तिमा आत्मनिर्भर बनाउन प्रयास भैरहेको जानकारी दिँदै प्रधान सेनापति शर्माले सकलदर्जाको पेसागत दक्षता अब्बल बनाई राख्न तालिम गतिविधिलाई प्राथमिकता दिइएको बताए । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सम्बन्धी विधेयक स्वीकृतिको प्रकृयामा रहेको एवं पूर्वाधार निर्माण र तालिम सञ्चालन मोडालिटी तयारीको कार्य अपेक्षाकृत रुपमा अघि बढिरहेको बताउँदै उनल सेनाले निर्वाह गर्दै आईरहेका प्रकृति संरक्षण, विपद् व्यवस्थापन, अन्तर्राष्ट्रिय शान्ति स्थापना लगायतका जिम्मेवारीहरु उत्कृष्ट ढंगले पुरा गर्दै सेनालाई हरेक क्षेत्रमा उत्कृष्ट र अब्बल बनाइराख्न योगदान पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गरे ।

सकलदर्जा र हिताधिकारीहरुको कल्याणका क्षेत्रमा सैनिक कल्याणकारी कोष मार्फत संचालन भैरहेका कार्यहरु थप सहज, सुलभ एवं प्रभावकारी बनाउन गरिएका सुधारात्मक प्रयासहरुको चर्चा गर्दै प्रधान सेनापतिले सेना दिवसको अवसरमा आजै वीरगति प्राप्त सकलदर्जालाई देश, जनता र नेपाली सेनाको लागि पुर्‍याएको अदम्य साहसको उच्च सम्मान गर्दै मरणोपरान्त कदरपत्र प्रदान गरिएको र उनीहरुको परिवारलाई दिइँदै आएको कल्याणकारी निवृतिभरणमा पाँच सय रुपैयाँ वृद्घि गरिएको बताए । कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देलसहित रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति थियो ।

आजै आयोजित बेग्लाबेग्लै कार्यक्रमहरुका बीच जिम्मेवारी निर्वाहको क्रममा जीवन उत्सर्ग गर्ने सैनिकहरूको सम्मानमा प्रधान सेनापतिले छाउनीमा रहेको वीर स्मारक तथा सैनिक मञ्च टुँडिखेलमा रहेको सहिद स्मारकमा माल्यार्पण गरेका थिए । सोही अवसरमा वीरगति प्राप्त सकलदर्जाको सम्मानमा सहिद सलामी अर्पण गरिएको थियो भने छाउनीमा आयोजित कार्यक्रममा प्रधान सेनापति शर्माले वीरगति प्राप्त सैनिकका परिवारजनहरूलाई दोसल्ला ओढाइ सम्मान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot