Logo

११ जातिका घर एउटै गाउँमा



मुग्लिन, (चितवन) ६ चैत । चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा विभिन्न जातजातिका घर अवलोकन गर्न पाइने भएको छ । यही चैत ९ देखि १८ गतेसम्म हुने प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारी महोत्सवमा विभिन्न ११ जातजातिका घरहरुको अवलोकन गर्न पाइने भएको हो ।

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनले आयोजना गर्न लागेको महोत्सव स्थलमा यतिखेर धमाधम अस्थायी संरचना निर्माणको काम भइरहेको छ । महोत्सवमा आदिवासी जनजातिको पहिचानलाई स्थापित गराउन महोत्सवस्थलभित्रै गाउँ निर्माण गरिएको सांस्कृतिक घर निर्माण उपसमितिका संयोजक सञ्जय कुमालले जानकारी दिए ।

उनका अनुसार सबै आदिवासी जनजातिलाई समेटेर सांस्कृतिक एवं परम्परागत घरमार्फत पहिचान दिलाउने गरी गाउँ निर्माण गरिएको हो । हालसम्म चितवनमा १७ जनजाति समुदाय सङ्गठित भएर जनजाति महासङ्घमा आबद्ध छन् । तिनैमध्ये कम्तीमा ११ जातजातिका घर महोत्सवस्थलमा निर्माण हुने आयोजकले जनाएको छ ।

महोत्सव मूल समारोह समितिका संयोजक महेन्द्र दुराका अनुसार आदिवासी जनजाति समुदायको विषयमा अध्ययन तथा अनुसन्धान गर्ने अनुसन्धातालाई सघाउ पुग्ने गरी महोत्सवस्थलमा आदिवासी जनजातिका घर निर्माण गरिएको हो । महोत्सवस्थलमा निर्मित आदिवासी जनजाति समुदायको गाउँले पुरानो पुस्तालाई भन्दा पनि नयाँ पुस्तालाई आकर्षित गर्ने विश्वास लिइएको छ ।

परिवर्तित समयसँगै आदिवासी जनजाति समुदायका मौलिक परम्परा हराउँदै गएको अवस्थामा नयाँ पुस्तालाई आफ्नो जाति र समुदायबारे परिचित गराउन पनि आदिवासी जनजातिका गाउँले फरक अनुभूति दिलाउने भरतपुर महानगरपालिका–११ नौरङ्गेकी नुरमायाँ कुमाल बताउँछन् ।

नुरमायाले भने, “आदिवासी जनजाति समुदायकोे मौलिक परम्परा हराउँदै गएको अवस्था छ, पुरानाभन्दा पनि नयाँ पुस्तालाई आफ्नो समुदायबारे परिचित गराउन आवश्यक छ, महोत्सवस्थलमा बनेका विभिन्न जातजातिका घरले समुदायको पहिचानसँगै फरक अनुभूति दिलाउनेछ ।”

महोत्सवमा निर्मित घर देख्दै गर्दा आधुनिक संरचनालाई पनि मौलिकता झल्किने गरी निर्माण गर्न सकिने महसुस गराएको उनको भनाइ छ । जनजाति परिसरकै कारण चितवनमा हुँदै आएका अन्य मेला महोत्सवभन्दा बिल्कुलै फरक हुने आयोजकको भनाइ छ ।

चितवनमा थारू, चेपाङ, तामाङ, गुरुङ, मगर, नेवार, कुमाल, दरै, दुरा, थकाली, ह्योल्मो, राई, लिम्बू तथा भुजेलसहित १७ आदिवासी जनजाति समुदाय बसोबास गर्दछन् । ती सबैलाई एकै ठाउँमा समेटिने गरी महोत्सव आयोजना गर्न लागिएको हो । यसबाहेक जिल्लामा उत्पादन भएका वस्तुको बजारीकरणमा समेत टेवा पुग्नेगरी महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्