Logo

स्मृतीको ‘न्यूरोन्स बक्स’मा नेपाल पत्रकार महासंघ



कुसुम भट्टराई-

२०५१ सालमा हुनसक्छ, म नेपाल पत्रकार महासँघ, काठमाडौं शाखाको कार्यसमिति सदस्य थिएँ । अशोक श्रेष्ठ दाजु (हाल दिवंगत) शाखा अध्यक्ष हुनुहुन्थ्यो । उषा लोहनी दिज्यू, मित्र बालकुमार नेपाल र मैले कार्यसमिति सदस्यमा धेरै मत ल्याएर जितेका थियौं ।

एकाध वर्षपछि म ‘कान्तिपुर दैनिक’मा कार्यरत हुँदा सम्पादक योगेश उपाध्याय दाजुको आग्रह टार्न नसकी महासँघको केन्द्रिय कार्यसमितिको कोषाध्यक्ष पदमै उम्मेदवारी दिने धृष्टता गरेको थिएँ । मेरो प्रतिद्वन्द्वी को हुनुहुन्थ्यो थाहा छ ? उही हाम्रा चीर परिचित ‘जनआस्था साप्ताहिक’का सम्पादक किशोर श्रेष्ठ दाजु ।

आफु पराजित हुने मात्र हैन, जमानतै जफत हुनेमा म विश्वस्त थिएँ । किनकी, त्यो बेला अग्रज पत्रकार दाजु किशोर नेपाल महासँघको केन्द्रिय अध्यक्षमा खडा हुनुभएको थियो । अतः अध्यक्षमा किशोर नेपाल र कोषाध्यक्षमा किशोर श्रेष्ठ दुबैको जीत हुने कुराको आँकलन कम्तीमा मिडिया माइन्ड भएको यो बिन्दासले नगर्ने कुरै आएन ।

जमानत जफत हुने अवस्थामा पनि मलाई कान्तिपुर मिडिया हाउसले किन कोषाध्यक्षमै त्यो पनि किशोर श्रेष्ठ दाजुकै विरुद्ध खडा गरायो त ? भन्ने कौतुहल होला मित्रहरुलाई । धेरै वर्षपछि आज म त्यो रहष्य खोल्छु ।

रहष्य
‘जनआस्था साप्ताहिक’मा कान्तिपुर मिडियाका उतिबेला दुई अन्नय मित्र सरहका मालिकहरु कैलाश सिरोहिया र बिनोदराज ज्ञवालीले नगरकोटमा गएर रस–रमाइलो गरेको एउटा समाचार प्रकाशित भएको थियो । किशोर दाजु कम्युनिष्ट अनि म पनि कम्युनिष्ट परिवारकै । ‘कुसुमलाई उठाउँदा किशोर श्रेष्ठले पाउने एमाले समर्थित पत्रकारहरुको भोट काटछ र किशोरलाई हराउन सकिन्छ’ भन्ने डेढ अक्कली अनुमानकै आधारमा मलाई जमानत बापतको रकमसमेत दिइवरी, चुनाव प्रचार खर्चसमेत गोजीमा हालीवरी ललितपुर, जाउलाखेलको प्रशासनिक प्रशिक्षण भवनमा सम्पन्न महासँघको अधिवेशनमा उम्मेदवार खडा गरिएको थियो ।

मलाई यो कुरा थाहा थियो र आफ्नो औकात पनि थाहा थियो । तर, केन्द्रिय कोषाध्यक्षमै खडा हुँदा कम्तीमा देशभरका पत्रकार साथीहरुले भर्खर पत्रकारितामा बामे सर्दै गरेको यो कुसुम भट्टराईलाई चिन्दछन् र एकखालको देशव्यापी परिचय हुन्छ भन्ने मेरो नितान्त निजी स्वार्थ अनि आफु कार्यरत संस्थाप्रतिको ‘खोक्रो वफादारिता’कै खातिर म खडा हुन तयार भएको थिएँ ।

आखिर त्यही भयो, जुन मैले माथि उल्लेख गरिसकेको छु । तैपनि तटस्थ र मेरा माइडियर पत्रकार साथीहरुले मलाई भोट हाले र मैले ७४ मत ल्याएँ । यो ७४ मत भनेको पार्षदहरुको मत हो । त्योबेला एकजना पार्षद बन्न महासँघका चार जना साधारण सदस्यहरुको मत चाहिन्थ्यो । यस हिसाबले मप्रतिको समर्थन कूल २९६ को हुन गयो । अनि त हारे पनि मैले विजयी अनुभव गरें ।

अनि थाहा छ ? यसको केहीपछि रिपोर्टर्स क्लब, नेपालको स्थापना भयो, ऋषि धमलाजीको अध्यक्षतामा र उहाँले मलाई सोझै क्लबको कोषाध्यक्ष बनाउनुभयो, जहाँ मैले लामो समय बिताएँ ।

नेपाल पत्रकार महासँघको ६९ वार्षिकोत्सवका अवसरमा आज झलझली मैले ति दिनहरु सम्झीएँ । हाँसो पनि उठयो, अनि भावुक पनि बनायो । महासँघको ६९ औं वार्षिकोत्सवका अवसरमा सम्पूर्ण पत्रकार साथीहरुलाई बुटवलबाट बिन्दासको हार्दिक बधाई तथा शुभकामना ।

अनि भोली चैत्र १७ गते हुने रिपोर्टर्स क्लब नेपालको २६ औं वािर्षकोत्सवको अवसरमा पनि सबैलाई धेरै धेरै सम्झना र शुभकामना ।

इतिश्री ।

(यो प्रसँगताकाकै तस्वीर हो यो । हिमालय टाइम्स दैनिकमा केही समय कार्यरत रहेपछि म कान्तिपुर ज्वाइन भएको थिएँ । तस्वीरमा मसँगै बस्नुभएका मित्र किरण पोखरेलजी अहिले सम्माननीय राष्ट्रपतिज्यूका प्रेस सल्लाहकार हुनुहुन्छ ।)



प्रतिक्रिया दिनुहोस्