Logo

शुक्लाफाँटामा रिक्त दरबन्दीमा ‘सिमसार गज’



कञ्चनपुर, १६ चैत । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्तीको रिक्त दरबन्दीमा ‘सिमसार गज’लाई ल्याइएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट सिमसार गजलाई रिक्त दरबन्दीमा सरुवा गरेर ल्याइएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको निर्णयअनुसार साढे तीन वर्षको भाले सिमसार गजलाई सरुवा गरी ल्याइएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताए । उनका अनुसार निकुञ्जमा दशवटा हात्तीको दरबन्दी रहेको छ । त्यसमा नाराणकली, सुर्तिकली, रुपकली र शुक्लाकली गरी चार पोथी तथा लवप्रसाद, सिद्धप्रसाद, शेषचन्द्र गज, नारायणप्रसाद र सिमसार गज गरी भाले पाँच हात्ती रहेका छन् । “दश दरबन्दीमा निकुञ्जमा एक थपिँदा नौ हात्ती भएका छन्”, उनले भने, “एक हात्तीको दरबन्दी अझै रिक्त रहेको छ ।”

निकुञ्जमा गस्तीको कार्य गर्न, वन्यजन्तुको अनुगमन गर्न, उद्धार गर्न र पर्यटक घुमाउनका लागि हात्तीको प्रयोग हुने गरेको छ । निकुञ्जको पिपरिया, शुक्लाफाँट र मालुबेलामा हात्तीसार रहेका छन् । हात्ती सारमै आवश्यकताका आधारमा हात्तीलाई राख्ने गरिएको छ । हात्तीको रेखदेखका लागि माउते, फणित र पछुवाको दरबन्दी रहेको छ ।

दरबन्दीअनुसारको निकुञ्जलाई हात्ती रेखदेख गर्ने जनशक्ति अभाव छ । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज जङ्गली हात्तीको पनि बासस्थानका रुपमा रहेको छ । बर्सेनि भारतको पिलिभित हुँदै जङ्गली हात्तीको बथान निकुञ्जमा आउने गरेको छ ।

“निकुञ्जमा बाह्रै महिना २० देखि २५ को सङ्ख्यामा हात्तीको बथान रहने गरेको छ”, निकुञ्जका सूचना अधिकारी ऐरले भने, “त्यो समूह निकुञ्जमा समूह समूहमा विभाजन भएर बस्ने गरेको छ, त्यसमा छ भाले हात्ती रहने गरेका छन् ।”

जङ्गली हात्ती निकुञ्ज हुँदै चुरे क्षेत्रसम्मको पुरानो जैविक मार्गमा हिँड्डुल गर्ने गरेका छन् । निकुञ्ज पुग्ने हात्तीका बथान भारतीय दुधुवा नेसनल पार्कसम्म पुग्ने गर्दछन् । दुधुवा नेसनल पार्क जाने पुरानो जैविक मार्गको बीचमा बस्ती बस्दा हात्तीलाई ओहोरदोहोर गर्न निकै अप्ठेरो हुने गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्