Logo

सभामुखले बोलाएको ४ दलको बैठक सुरू, एमालेबाट ओलीले पठाए विष्णु पौडेल



काठमाडौं,२६ चैत । निरन्तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध गरेपछि समाधान खोज्न सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख ४ दलको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी बैठकमा ४ दलका शीर्ष नेताहरु सहभागी छन् । यसैबीच सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने बैठकमा उपस्थित भएका छैनन् । उनले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई बैठकमा पठाएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्ने चेतावनी दिएका विषयमा सभामुखले चार दलका शीर्ष नेताहरूसित छलफल थालेका हुन् । छलफलमा सभामुखसहित प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलगायत नेता सहभागी छन् । सभामुखले छलफलका निम्ति बोलाए पनि एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा अनुपस्थित छन् ।

सहकारी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा र संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले संसदमा आवाज उठाउँदै आएको छ । प्रतिनिधि सभा बैठक भोलिका लागि डाकिएको छ । सो बैठकमा छानबिन समिति नबनेमा सदन अवरुद्ध गर्दै कांग्रेसले चेतावनी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्