Logo

बाँकेका किसान चैते धानप्रति आकर्षित



बाँके, वैशाख १३ । प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका किसान चैते धानप्रति आकर्षित भएका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, बैजनाथ, डुडुवा गाउँपालिकाका किसान चैते धानप्रति आकर्षित भएका हुन् ।

पहिलोपटक चैते धानको खेती गरेकी बैजनाथ गाउँपालिका–६ की किसान गीता खत्रीले चैते धानको खेतीमा धमिरो लाग्ने गरेको अनुभव सुनाउँदै मलखाद पनि बढी प्रयोग हुने बताइन् ।

उनले बर्खे धान खेतीभन्दा चैते धान खेतीमा बढी मिहिनेत गर्नुपर्ने र उक्त धान खेतीमा रोग बढी लाग्ने भएकाले विषादीको मात्रा पनि बढी हुने उल्लेख गरिन् । यद्यपि खत्रीले मनग्गे उत्पादन हुनेमा आफू ढुक्क भएको बताइन् ।

करिब पाँच कट्ठा जमिन क्षेत्रफलमा चैते धानको खेती गरेकी खत्रीले बिउको ब्याड राख्न नजानेर समस्या झेल्नुपरेको बताइन् । कृषि ज्ञान केन्द्रका बागवानी अधिकृत रामप्रसाद यादवले अहिलेसम्म ९२ जना नयाँ किसानले यस वर्षदेखि चैते धानको खेती सुरु गरेको जानकारी दिए ।

उनले चैते धान खेतीका लागि किसानलाई निःशुल्क बिउ वितरण भएको उल्लेख गर्दै हर्दिनेटा १, ३ र चैते ५ जातको चैते धानको खेती भएको बताए । ‘चैते धान लगाउन किसानले झन्झट मानेका कारण कतिपय सिँचाइको सुविधा भएको ठाउँमा मकै खेती पनि गरेका छन्,’ यादवले भने ।

बागवानी अधिकृत यादवले अहिले चैते धानको गाँज लाग्ने बेला सुरु भएको जानकारी दिँदै बर्खे धानलाई जस्तै प्रशस्त पानी नचाहिने बताए । कृषि ज्ञान केन्द्रका अनुसार केही किसानले आफ्नै लगानीमा र केहीले कृषि अनुसन्धान केन्द्र खजुराले दिएको बिउबाट गरी कूल ४० हेक्टर जमिनमा चैते धानको खेती गरेका छन् ।

यस वर्ष जिल्लाको बैजनाथ गाउँपालिका–८ को टिटिरिया, झिगौरा, मचरा डुडुवा गाउँपालिका–३ को सूर्य, लालपूर्जा, वनकट्टि, राप्तिसोनारीको फत्तेपुर, खजुरा गाउँपालिका–२ को के गाउँमा चैते धानको खेती भएको छ । साथै गाउँपालिकामा स्थापना भएका कृषि सहकारी समूहमार्फत किसानलाई बिउ, मल र विषादी वितरण गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्