Logo

बझाङमा मतगणना कहिले?



काठमाडौं, वैशाख १६ । बझाङमा आज मतगणना हुने भएको छ। बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा शनिवार भएको उपनिर्वाचनको आज मतगणना हुने भएको हो। शनिवार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भएको मतदानमा ४९ दशमलव १२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ। बझाङ क्षेत्र नम्बर १ मा कुल ६१ हजार ७ सय ४८ मतदाता रहेकोमा ३० हजार ३ सय २८ जनाले मात्रै मतदान गरेका छन्। जिल्लाका ७४ वटै मतदान स्थल र ९३ मतदान केन्द्रमा मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको छ। मतपेटिका मतगणना स्थल जिल्ला अदालत चैनपुरमा आइतवार बिहान १० बजेभित्र ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ। जिल्लाको साइपाल गाउँपालिकाको तीन स्थानका मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट जिल्ला सदरमुकामसम्म ल्याउने व्यवस्था गरिएको छ। मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि प्रदेश सभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनासम्बन्धी आयोगबाट भएको निर्देशन बमोजिम मतगणना प्रारम्भ गरिनेछ।

नेपाली काँग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा ज्यान गएपछि उक्त क्षेत्रमा उपचुनाव भएको हो। त्यहाँ विभिन्न दलका ११ जना उम्मेदवार छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot