Logo

पार्टी फुटेपनि सरकारबाट नबाहिरिने मुडमा उपेन्द्र, प्रचण्डले गर्लान् त पदच्यूत ?



काठमाडौं,२५ वैशाख । विदेश भ्रमणमा रहँदैको अवस्थामा आफ्नै विश्वासपात्रले धोका दिएर नयाँ पार्टी गठन गरेपछि जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव तनावमा छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादव अमेरिका भ्रमणमा रहँदा आइतबार आकस्मिक रुपमा उनको पार्टी फुटेको थियो । पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईको नेतृत्वमा ७ जना संघीय सांसदले विद्रोह गरेका हुन् ।

पार्टीका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका नेताहरुले जसपा नेपाल विभाजन गरेर नयाँ दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा निवेदन दिएका थिए । राईसहितका नेताहरुले दिएको निवेदनमाथि कारबाही गर्दै आयोगले सोमबार दल दर्ता गरिदियो । १९८ दल दर्ता नम्बर राखेर राई नेतृत्वको पार्टीलाई सोमबार आयोगले दलको मान्यता दिएको हो । नवगठित पार्टीको नाम जनता समाजवादी पार्टी राखिएको छ ।

आफू विदेश भ्रमणमा रहँदै पार्टी विभाजन भएपछि भ्रमण छोट्याएर उनी आज बिहानै स्वदेश फर्किएका छन् । स्वदेश फर्किनासाथ यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेका थिए । प्रचण्डसँगको भेटमा यादवले पार्टी विभाजनमा प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले भूमिका खेलेको भन्दै आक्रोश पोखेको स्रोतको दाबी छ ।

बालुवाटार स्रोतका अनुसार यादवले सत्ताकै लागि पार्टी विभाजन भएपछि आफूहरु सरकारमा नरहने जानकारी प्रचण्डलाई गराएका छन् । यद्यपि बाँकी निर्णय लिन यादवले दिउँसो आफू पक्षका सांसदहरुको बैठक डाकेका छन् । प्रचण्डले भने यादवलाई टुटफुटले कसैलाई पनि राम्रो नगर्ने भन्दै राईसँग मिलेर अघि बढ्न सुझाव दिएका छन् । यादवलाई जसपा फुट्नुमा आफ्नो र ओलीको कुनै हात नरहेको प्रचण्डले विश्वास दिलाउने प्रयास गरेको थिए । यद्यपि प्रचण्डको जवाफबाट यादव सन्तुष्ट छैनन् ।

जसपा फुट्नुमा ओली-प्रचण्डको भन्दा पनि स्वयं यादवको भूमिका बढी जिम्मेवार रहेको नेताहरुले बताउने गरेका छन् । सत्ताका लागि जे पनि गर्न तयार हुने यादवको बानीले पार्टी विभाजन भएको नवगठित जसपाका नेताहरुको आरोप छ । नवगठित जसपाका नेताहरुले यादवले हैकमवादी चरित्र देखाएको, सत्ताको लागि अस्थिरता निम्त्याउन खोजेको, आफ्नो गुटलाई मात्र ध्यान दिएको, महाधिवेशन पटक-पटक टार्न खाजेको, संघीय निर्वाचनमा पराजित हुँदासमेत जस्केलाबाट संसदमा छिरेको लगायतका आरोप लगाएका छन् ।

नवगठित जसपाका नेताहरुले लगाएको आरोपलाई बल पुग्नेगरि उपेन्द्रले गरेका पछिल्ला केही गतिविधिले पनि त्यो कुरालाई पुष्टि गरेको छ । गत फागुन २१ गते प्रचण्डले कांग्रेससँगको पूरानो गठबन्धन भत्काएर एमालेसहितको नयाँ गठबन्धन बनाएका थिए । यादवलाई सुरुमै यो गठबन्धनमा सहभागी नहुन तीव्र दबाब थियो । आफूलाई भूराजनीतिक दवाव परेको बताउने यादवले सो गठबन्धनमा जानबाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि रोक्न खोजेका थिए । तर, नेकपा एसले सरकारमा जाने निर्णय लिएपछि यादव पनि गठबन्धनमा सहभागी भए ।

सत्ता गठबन्धनमा सामेल भएपछि पनि यादवले प्रचण्ड नेतृत्वको सरकार ढाल्न निरन्तर लागिपरेको आरोप लाग्दै आएको छ । खासगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैकल्पिक सत्ता गठबन्धन बनाएर नेपाल र यादवलाई पालैपालो प्रधानमन्त्री बनाउनेगरी प्रस्ताव राखेपछि यादव वर्तमान सरकारप्रति असन्तुष्ट बन्दै गएका थिए । बाहिर देखिनेगरी कुनैपनि प्रतिक्रिया नजनाएका यादवले भित्रिरुपमा भने कांग्रेस सभापति शेरबहादुर देउवा र एसका अध्यक्ष नेपालसँग भेटवार्ता गर्दै आएका थिए ।

नयाँ सत्ता समीकरण बनेको छोटो समयमै सत्ता परिवर्तनको खेलमा लागेको भन्दै असन्तुष्ट बनेकाहरुले पार्टी विभाजन गरेपछि उपेन्द्र अपठ्यारोमा छन् । प्रतिनिधि सभामा १२ सांसद रहेकोमा नवगठित पार्टीमा ७ जना रहेका छन् भने यादवको पक्षमा उनीसहित ५ जना छन् । नवगठित पार्टीले सोमबार वज्ञप्ति जारी गरेर वर्तमान सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । स्रोतका अनुसार प्रचण्डले केही दिनमै नवगठित जसपाका केही सांसलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठना गर्नेछन् ।

पुनर्गठित पार्टीबाट थप मन्त्री थपिने भएपछि यादव नेतृत्वको जसपा नेपालका मन्त्री फिर्ता हुने सम्भावना छ । तर, बिहानमात्र प्रधानमन्त्रीलाई भेटेका यादवले भने आफ्नो दल सरकारबाट नबाहिरिने बताएका छन् । यद्यपि उपेन्द्रको चाहना भने आफैं सरकारबाट नबाहिरिने र प्रधानमन्त्री प्रचण्डले नै हटाउन् भन्ने छ ।

वन मन्त्रालयको जिम्मेवारीमा रहेका नवलकिशोर साह सुडीले समेत उपेन्द्रको साथ छाडेका छन् । एमाले अध्यक्ष ओली पनि उपेन्द्रसँग रुष्ट छन् । एकीकृत समाजवादीका अध्यक्षसमेतलाई भाड्ने कोशिस गरेर कांग्रेससँग वैकल्पिक समीकरणको प्रयास गरेको सत्तारुढ दलले उनीमाथि आरोप लगाउँदै आएको थियो । यस आधारमा ओलीले उपेन्द्र अमेरिका हुँदै पदच्यूत गर्न भन्दै प्रधानमन्त्री प्रचण्डलाई दवाब दिएका थिए । ओलीको दवाबलाई प्रचण्डले अहिलेसम्म थेगिरहेका छन् । अघिल्लो सत्ता गठबन्धनमा आफ्नो बहुमत देखाउन प्रचण्डले ४ दलीय समाजवादी मोर्चाको परिकल्पना गरेका थिए । सो मोर्चामा उपेन्द्र पनि छ । उपेन्द्रलाई अहिले पदच्यूत गर्दा मोर्चाको भविष्य अन्यौलतातर्फ जाने प्रचण्डको बुझाइ छ । प्रचण्ड उपेन्द्रलाई पदच्यूत गर्ने भन्दा पनि आफैं राजीनामा दिउन् भन्ने चाहन्छन् । प्रचण्डको उक्त बाध्यता बुझेका उपेन्द्र पनि प्रचण्डले पदच्यूत गरेको हेर्न चाहन्छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot