Logo

पार्टी फुटाउनु बाध्यता हो, अन्याय सहनुपनि पाप नै हो : अशोक राई



काठमाडौं, २७ बैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले आफूहरुले कानून र संविधानसम्मत् रुपमा पार्टी दर्ता गराएको भन्दै कसैले कानूनी चूनौति दिए सामाना गर्ने स्पष्ट पारेका छन् । जनता समाजवादी पार्टी, नेपालबाट विभाजित भएर नयाँ दल दर्ता गराएपछि आज (बिहीबार) पहिलोपटक पत्रकार सम्मेलन गर्दै राईले यस्तो बताएका हुन् ।

उपेन्द्र यादवले पार्टी विभाजनको विरुद्धमा अदालत जाने भनेर गरेको घोषणाको सम्बन्धमा अध्यक्ष राईले अदालतको ढोका सबैको लागि खुला रहेको भन्दै उक्त चूनौति स्विकार्य रहेको स्पष्ट पारे । उनले भने,‘निर्वाचन आयोगजस्तो संवैधानिक अंगले कानूनविद्हरुको बहससमेत गराएर सहमति, स्विकृति दिने र दर्ता गर्ने काम भयो । उहाँहरु जान सक्नुहुन्छ । सबैको निम्ति अदालतको ढोका खुला छ । कानूनसम्मत् हाम्रो पार्टी दर्ता भएको छ ।’

हामी सरकारमै छौं, उपेन्द्रजी रहने वा नरहने उहाँ र प्रधानमन्त्रीजीले निक्र्यौल गर्ने कुरा हो अशोक राई
अध्यक्ष अशोक राईले आफूहरु राजनीतिक स्थायित्वको पक्षमा रहेकोले अहिले पनि सरकारमै रहेको स्पष्ट पारेका छन् । उनले भने,‘हामी सरकारमै छौं । अब उहाँ (उपेन्द्र यादवजी) सरकारमा रहनुहुन्छ कि रहनुहुन्न प्रधानमन्त्री र उहाँले निक्र्यौल गर्ने कुरा हो । हामीले त अलग दल बनाएका छौं ।’

उनले आफूहरुले पार्टी विभाजन गर्नुअघि पनि सरकारको अंकगणित मिलेकै थियो भनेर दाबी गरे । तर, सरकारको अंकगणितलाई फेरफार गर्ने गतिविधि अन्डरकरेन्ट चलिराखेको भन्ने कुरा आफूहरुले पनि सुईंको पाएको उनको भनाई छ । उनले भने,‘अंकगणित मिलेकै थियो । तर, अलिकति अंकगणितलाई फेरफार गर्ने गतिविधि चलिराखेको भन्ने कुरा मिडियामा आएको थियो । सत्यता मिडियालाई नै थाहा होला । हामी सतर्क हुनुपर्ने पक्ष थियो, मुलुक अस्थिरताको शिकार रहनुहुँदैन् । हामी अस्थिरताको कारक हुँदैनौं ।’

राईले आफूहरुले रहरले नभई बाध्यताले पार्टी विभाजन गरेको स्पष्ट पारेका छन् । उनले उपेन्द्र यादवको व्यवहार राम्रो नभएको र अन्याय गरेकोले विभाजनको बाटो रोजेको स्पष्टीकरण दिए । उनले भने,‘उपेन्द्र यादवले नजिक र टाढाको व्यवहार गर्नुभयो । नेतृत्वमा पारदर्शीता देखिएन । महाधिवेशन अनियमित ढंगले कब्जा गर्ने र पार्टी नियन्त्रण गर्ने देखियो । परिस्थिति पाक्यो, अनि विस्फोटक अवस्था आयो । पार्टी फुट्नु रहर होईन । यो बाध्यता हो । अन्याय सहनुपनि पाप हो ।’

मधेश प्रदेशमा हाम्रो पक्षमा ५० प्रतिशत भन्दा बढि सांसद उभिन्छन्
मधेश प्रदेशमा आफूहरुको पक्षमा ५० प्रतिशतभन्दा बढि सांसदहरु खुल्ने दाबी गरेको छ। सो दलका महासचिव मो. ईश्तियाक राईले यस्तो खुलासा गरेका हुन् । उनले अहिले २१ दिने सूचना राखेर सनाखतको प्रक्रिया सुरू भएकोले त्यतिवेलासम्म आफूहरुको पक्षमा बहुमत सांसदहरु खुल्ने दाबी गरेका हुन् । महासचिव राईले भने,‘२१ दिने सूचना जारी भएको छ । सनाखतको प्रक्रिया जारी छ । हामीहरु उहाँ (उपेन्द्र) भन्दा बढि नै हुन्छौं । ५० प्रतिशतभनदा बढि नै हुन्छ ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot