Logo

राससकर्मी न्यौपाने पुरस्कृत



डुम्रे (तनहुँ), २८ वैशाख ।राष्ट्रिय समाचार समिति (रासस) दमौली समाचारदाता कृष्ण न्यौपानेलाई प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको आज आयोजित दशौँ जिल्ला अधिवेशनका अवसरमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

पार्टीका महासचिव शङ्कर पोख्रेलले न्यौपानेलाई प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरे। उक्त पुरस्कारको राशी रु दश हजार नगद रहेको छ । चौतारी तनहुँ शाखाले गत माघ २३ गते उक्त पुरस्कार न्यौपानेलाई अर्पण गर्ने निर्णय गरेको थियो । पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको शाखाका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रेस चौतारीले मरेर बाँचेकाहरु र अन्तिम सन्देश नामक वृत्तचित्र प्रदर्शन गरेर बेचेको रकमबाट एक लाखको पत्रकारिता अक्षयकोष स्थापना गरेको छ । उक्त कोषको व्याजबाट प्रत्येक वर्ष एक जना क्रियाशील पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्ने गरिएको छ ।

यसअघि उक्त पुरस्कारबाट वरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी, शाखाका पूर्वअध्यक्ष प्रेमप्रसाद पौडेल, प्रकाशचन्द्र भट्टराई, नारायण खड्का र बसन्ती बास्तोला पुरस्कृत भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot