वैशाख ६, काठमाण्डौ । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ५ जनाकै नाम अनुमोदन गरेको छ ।
बिहीबार सबै ५ जनाको सुनुवाईपछि समितिले सर्वसम्मत रुपमा नाम अनुमोदन गरेको हो ।
समितिले अनुमोदन गरेका न्यायाधीशहरुको विषयमा बाहिर भने विवाद देखिएको छ । न्यायपरिषदले केही दिनअघि सर्वोच्चको न्यायाधीशमा कुमार रेग्मी, हरि फुयाँल, मनोजराज शर्मा, प्रकाश ढुंगाना र सुष्मलता माथेमालाई सिफारिस गरेको थियो ।
सत्तारुढ दल नेकपाका तर्फबाट राष्ट्रियसभामा मनोनित सदस्य तथा संविधानका ज्ञाता रामनारायण विडारीले अनुमोदन भएकाभन्दा अरु पनि राम्रो व्यक्ति भएको तर्क गरेका छन् । तर उनले ति ५ जना पनि उचित पात्र नै भएको बताए ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै विडारी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र समितिका सभापति लक्ष्मणलाल कर्णले आफ्नो धारणा राखेका थिए ।
त्यसक्रममा विडारीले अनुमोदनमा परेकाहरुको विषयमा आलोचना हुनु लोकतन्त्रको विशेषता भनेरसमेत चर्चा गरे ।
यता अधिवक्ता दिनेश त्रिपाठीले भने असन्तुष्टी व्यक्त गर्दै समितिको औचित्य नै समाप्त भएको बताए । अनुमोदनमा परेका न्यायाधीशहरुको योग्यतामाथि नै त्रिपाठीले प्रश्न उठाएका छन् ।
भ्रष्ट न्यायाधीशमाथि छानविन हुनुपर्नेमा कर्मकाण्डी तरिकाले समितिले अनुमोदन गरेर गल्ती गरेको त्रिपाठीको ठहर छ ।
समितिका सभापति कर्णले भने त्रिपाठीले हल्लामा आएका कुरालाई मात्र बहसमा ल्याएको आरोप लगाए । अनुमोदित प्रधानन्यायाधीशहरुमाथि पर्याप्त छलफल गरेको कर्णले दावी गरे ।
संसदीय सुनुवाइ समितिमा न्यायाधीश सिफारिसबारे ५ वटा उजुरी परेको थियो । सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि अब उनीहरुको नियुक्ति राष्ट्रपतिबाट हुनेछ ।