वैशाख ९, काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनको काम सकिए पनि गुनासाहरु सम्बोधन गर्न भने बाँकी नै रहेको बताएका छन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै पण्डितले कर्मचारीको गुनासो सम्बोधन गर्ने क्रममा रहेको जानकारी दिए ।
स्वास्थ्य सेवा क्षेत्रबाहेकका गुनासो २–४ दिनभित्रै सम्बोधन गरिसक्ने पण्डितले बताए । त्यसपछि चिकित्सा क्षेत्रका कर्मचारीको समस्या समाधान गरिने उनले बताए ।
कर्मचारी समायोजन गर्ने काम निकै ठूलो भएकाले समस्या र गुनासो देखापर्नु सामान्य विषय भएको पण्डितले बताए ।
तर अनावश्यक दुष्प्रचार गरेर बदनाम गराउन खोजिएको पण्डतको गुनासो छ । कर्मचारी समायोजनका क्रममा आफू कसैको दबाबमा नपरेको दावी गरे ।